धोका दिने ‘आफू’ दोष ‘राजा’माथि !

धोका दिने ‘आफू’ दोष ‘राजा’माथि !


धर्मनिरपेक्षतासहितको सङ्घीय गणतन्त्रात्मक संविधान जारी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरी परराष्ट्रमन्त्रीको हैसियतमा संसार घुम्दै ‘विश्वकै उत्कृष्ट संविधान बनाएको’ दाबी गर्ने कमल थापाले आफ्नो दुर्बल स्थितिका निम्ति पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रलाई दोष दिएका छन् । चार दिनअघि राजासमक्ष झुकेको आफ्नो तस्बिर राखेर ट्विट गर्दै थापाले भनेका छन्, ‘राप्रपालाई विभाजित गर्न सहयोग गर्ने शक्तिहरूले छातीमा हात राखेर सोचुन् आखिर यो विभाजनबाट कसलाई फाइदा भयो ?’ उनले चुनौती दिने शैलीमा अगाडि लेखेका छन्, ‘अझै सङ्कीर्ण मानसिकता कायम राख्ने वा एकीकृत शक्ति निर्माणमा सहयोग गर्ने ?’

थापाले ‘हिन्दूराष्ट्र, राजतन्त्रसहित लोकतन्त्रको विचार बोकेर जिरोबाट चार, चारबाट पच्चीस र पच्चीसबाट सैँतीस सिटसहित तेस्रो ठूलो शक्ति बनेको’ उल्लेख गर्दै ट्विटमा आफ्नो बुद्धि र क्षमताले शक्तिशाली बनाएको पार्टी राजाले चकनाचुर बनाइदिएको भन्न खोजेका छन् । धर्मनिरपेक्षतासहितको सङ्घीय गणतन्त्रात्मक संविधान जारी गर्न सघाएबापत जनताले दण्ड दिएको यथार्थ स्वीकार गर्न थापा तयार नभएको उनको ट्विटले देखाएको छ ।

स्मरणीय छ, कमला थापाले धर्म र राष्ट्रपक्षको अडान छोडेपछि जनतामा उनको नकारात्मक छवि मात्र बनेको छैन, राष्ट्र र धर्मको पक्षमा सक्रिय अन्य व्यक्तिसमेत कमल थापाजस्तै धोखेबाज हुन् कि भन्ने शङ्का र त्राससमेत जनतामा पैदा भएको छ ।