युवा पुस्ताको आक्रोश : समाधान कसरी ?

युवा पुस्ताको आक्रोश : समाधान कसरी ?


■ बबिता बस्नेत

सोभियत युनियनका नेता खुर्सेभ (निकिता सार्गेभिज खुर्सेभ) गरिब किसानका छोरा थिए । रुस र युक्रेनको सीमानजिकै उनीहरूको घर थियो । खुर्सेभ नौ वर्षको हुँदा एक दिन उनका बाबुले भने, ‘अब तिमी युवावस्थामा पुग्न लाग्यौ, मसँग धनसम्पत्ति छैन, तिमीलाई दिन सक्दिनँ, तर एउटा यस्तो कुरा भन्छु जुन तिमीले कहिल्यै नबिर्सिनू, त्यसलाई मैले दिएको सम्पत्तिको रूपमा लिनू ।’

छोराले हुन्छ भनेपछि बाबुले भने, ‘तिम्रो जीवनको पाइलापाइलामा आक्रोश आउने काम कतै न कतैबाट हुनेछ । जुन प्रायः मानिसको जीवनमा हुन्छ । कहिलेकाहीँ रिसको मात्रा यति बढी हुन्छ कि त्यसले आफूलाई सम्हाल्न गाह्रो बनाउँछ, के गरुँ, कसो गरुँ हुन्छ । त्यस्तो बेलामा तिमीले केही नबोल्नु, सम्बन्धित मानिसलाई तिमीसँग म २४ घन्टापछि कुरा गर्छु भन्नू । कुनै पनि परिस्थितिको रिस र आक्रोश किन नहोस् २४ घन्टाको समय ख्याल गर्नू, जे प्रतिक्रिया दिनुपर्छ त्यसपछि दिनू ।’

बाबुको यो अर्तीलाई उनले सम्पत्तिका रूपमा लिए । अनेक घटनाक्रम पार गर्दै अन्ततः उनी सोभियत युनियनको नेतृत्वदायी भूमिकामा पुगे ।

क्षणिक आक्रोशले मानिसलाई कहाँदेखि कहाँ पुऱ्याइदिन्छ । एकैछिन आक्रोश सम्हाल्न नसक्दा विभिन्न मानिसको जीवनमा अनेक विपत् आइलागेका छन् । रोशनीले २४ घन्टा आफूलाई सम्हाल्न सकेकी भए नेता महरा जेल जानुपर्ने थिएन । आस्था राउतले सोही दिनअघि सामाजिक सञ्जालमा रिस नपोखेको भए उनको करिअरलाई घाटा पुग्ने थिएन । हत्या, आत्महत्या, हिंसाका जति पनि घटना भएका छन् ती एकैछिन आफूलाई सम्हाल्न नसक्दा भएका छन्, हुने गरेका छन् । आक्रोश, रिस त मानिसमा हिजो पनि थियो, नभएको भए विगतका तमाम घटना हुने थिएनन् । तर, अहिले युवा पुस्ताको आक्रोश हेर्दा अरूलाई भन्दा बढी आफैँलाई क्षति पुऱ्याउने खालको देखिन्छ ।

केही दिनअघि एयरपोर्टमा प्रहरीले ज्याकेट खोल्न भनेपछिको आस्थाको आक्रोशपूर्ण ‘बडिल्याङ्ग्वेज’ र त्यसपछि बोलिएका घृणास्पद अभिव्यक्ति (हेट स्पिच) लाई हेर्दा, सुन्दा के बोलिरहेकी छु भनेर उनी आफैँले थाहै नपाउने खालको छ । उक्त रिस उनको मात्र होइन, यसले सबै त नभनौँ तर धेरै युवाको आक्रोशलाई प्रतिनिधित्व गर्छ । राज्यले चेकजाँच गऱ्यो भनेर सार्वजनिक रूपमा उनले रिस देखाइन्, सबैले देखे । आफ्नो घरपरिवारमा अहिलेको युवा पुस्ताले जुन प्रकाको प्रवृत्ति देखाउने गरेको छ त्यो भोग्नेहरूबीचमा मात्रै सीमित छ । उनीहरूसँग परिवारका सदस्यहरूले बोल्नुहुँदैन, यसो गर उसो नगर भन्नुहुँदैन । उनीहरूले गरेको काम मात्र सही अरूको गलत, उनीहरू मात्रै सही अरू सबै गलत । आस्थाले सार्वजनिक रूपमा आक्रोश पोखिन्, अहिलेको पुस्तालाई परिवारका सदस्यले केही भन्यो भने कोठाभित्र चुकुल लगाई एक्लै बसेर रिस पोख्छन् । कतिले त तिमीहरूलाई म देखाइदिन्छु भनेर आत्महत्या नै गरेका घटना पनि छन् ।

उक्त रिस उनको मात्र होइन, यसले सबै त नभनौँ तर धेरै युवाको आक्रोशलाई प्रतिनिधित्व गर्छ । राज्यले चेकजाँच गऱ्यो भनेर सार्वजनिक रूपमा उनले रिस देखाइन्, सबैले देखे । आफ्नो घरपरिवारमा अहिलेको युवा पुस्ताले जुन प्रकाको प्रवृत्ति देखाउने गरेको छ त्यो भोग्नेहरूबीचमा मात्रै सीमित छ ।

अहिले सामाजिक सञ्जालको अनुगमन गर्ने हो भने धेरैले आफूभित्रको आक्रोश मानिसले छरपस्ट पारिरहेको देखिन्छ । बिहान जुरुक्क उठेदेखि शुरु भएको सामाजिक सजालमा विष वमन राति सुत्दासम्म हुन्छ । मानिसले कतिबेला राम्रा कुरा सोच्नु, कतिबेला जिन्दगीका फरक आयामहरूका लागि योजना बनाउनु, प्रविधिको दास बन्दै जाँदा आक्रोशको मात्रा पनि बढ्दै गएको छ । अनेक घटना हेरेर, सुनेर मानिस ओछ्यानबाट उठ्दैखेरि रिसले मुर्मुराउँदै उठ्छ । अनि त्यस्तो मानसिक अवस्थाले जिन्दगीलाई कता धकेल्छ ?

मानिसको बोलीमा अमृत हुन्छ र बोलीमै विष पनि । जिन्दगीभर लगाएर भगवान् गौतम बुद्धले थोरै बोल्नु र धेरै सुन्नु जिन्दगी खुशी र सुखी हुने सूत्र हुन् भन्नुभयो । उहाँले कसैले भनेको सुनेर होइन आफैँले प्रयोग गरेर यो कुरा भन्नुभएको हो । एकपटक एउटा जमातले उहाँलाई तथानाम गाली गरेछ, चुपचाप सुनेर उहाँले तपाईंहरूको सकियो म जाऊँ भन्नुहुँदा सबैजना नतमस्तक भएका थिए रे । तपाईंलाई रिस उठेन ? भनेर सोध्दा तपाईंहरूले भनेको कुरा मैले लिएकै छैन, के रिस उठ्नु भन्नुभएको थियो । युवा पुस्ताले मात्र होइन, मैले बोलेको कुराले अरूलाई के प्रभाव पाऱ्यो वा असर गऱ्यो होला, मैले कतिलाई चित्त दुखाएँ या कतिलाई खुशी बनाएँ होला, मैले बोलेको कारणले कसैको जिन्दगीमा सकारात्मक परिवर्तन होला त, केही नयाँ कुरा, कसैको जिन्दगीमा ऊर्जा थप्ने काम गरुँला त, मैले कसैलाई चोट त पुऱ्याइनँ भनेर हामी सबैले आफूले आफैँलाई गर्नुपर्ने प्रश्नहरू हुन् यी ।

कसैलाई चोट पुऱ्याउन ढुङ्गामुढा गर्नुपर्दैन, हतियार चलाउनुपर्दैन, बोलीवचन नै काफी हुन्छ । अरूलाई दोषी देखाएर आफू नैतिकवान बन्न खोज्नेहरूको सङ्ख्या हामीकहाँ ठूलो छ । परिस्थिति सधैँ एकनास हुँदैन, कतिपय अवस्थामा विषयकेन्द्रित आलोचना आवश्यक हुन्छ । नकारात्मक भावना र आलोचनात्मक दृष्टिकोण फरक कुरा हुन् । ‘क्रिटिकल’ हुनु र ‘नेगेटिभ’ हुनुबीचको दूरी निकै लामो छ । साथै आफूले बोलेको कुराले के सन्देश दिन्छ भन्ने पनि महत्वपूर्ण पक्ष हो । सोचौँ, हामी कस्तो बोलिरहेका छौँ ? रिस र आवेग शरीर र मन मस्तिष्कसँग सम्बन्धित छन् । घृणास्पद अभिव्यक्ति दिन मानिसले पहिला आफूलाई विषाक्त बनाउनुपर्ने हुन्छ । रिस र क्रोधमा हाम्रो शारीरिक ‘सिस्टम’ले विष उत्पादन गर्छ । पहिला आफूभित्र विष फैलाएपछि मात्र विषाक्त अभिव्यक्ति दिन सकिन्छ, जसको सम्बन्ध सीधै स्वास्थ्यसँग हुन्छ ।

घृणास्पद अभिव्यक्ति दिन मानिसले पहिला आफूलाई विषाक्त बनाउनुपर्ने हुन्छ । रिस र क्रोधमा हाम्रो शारीरिक ‘सिस्टम’ले विष उत्पादन गर्छ । पहिला आफूभित्र विष फैलाएपछि मात्र विषाक्त अभिव्यक्ति दिन सकिन्छ, जसको सम्बन्ध सीधै स्वास्थ्यसँग हुन्छ ।

मानिसलाई आक्रोशित बनाउन आफूवरिपरिको वातावरण पनि जिम्मेवार हुन्छ । पढ्न खोज्यो गतिलो कलेज पाइँदैन, अहिले मेडिकल पढ्न नपाएर कति युवा अन्य देशमा ठूलो रकम खर्च गरेर गइरहेका छन् । पाइलापाइलामा पैसा खर्च गर्नुपर्छ, आम्दानीको बाटो छैन, काम पाइँदैन । यस्तो बेलामा आक्रोश कोसँग पोख्ने ? सबैभन्दा पीडित त हिजोआज बाबुआमा छन् जस्तो लाग्छ । जिन्दगीमा बाबुआमा हुनुजस्तो कठिन ‘टर्म्स अफ रिफ्रेन्स’ (के गर्न हुने के नहुने) अरू नाता, सम्बन्ध, पेसा, व्यवसायमा छैन ।

अर्कोतर्फ युवा पुस्ताको आक्रोशको जिम्मेवार अभिभावक पनि हौँ । हामीले खुर्सेभका बाबुले झैँ जिन्दगीभर काम लाग्ने व्यावहारिक सम्पत्तिभन्दा आफूसँग भएको धन–सम्पत्ति देखाउँदै ल…यो तिमीहरूकै हो है भन्दै बच्चाहरू हुर्काइरहेका छौँ । अर्को ठूलो खाडल हाम्रो शैक्षिक प्रणालीमा छ । स्कुलदेखि नै योगध्यानको कक्षा राख्न पाए सानैदेखि जीवनमा तनाव व्यवस्थापनको उपाय लागू गर्न सकिन्थ्यो । आजका बच्चा भोलिका युवा हुन् र युवाचाहिँ वयस्क हुन्, आक्रोश र रिसरहित सौहार्दपूर्ण जीवन बाँच्नका लागि शिक्षामा ध्यानलाई अनिवार्य बनाउनु आवश्यक छ ।

आस्थाको आक्रोश र त्यसपछिको पश्चात्तापलाई हेर्दा फरक धारबाट जीवन बाँच्नका लागि अब सोच्नैपर्छ जस्तो लाग्छ । उक्त प्रसङ्गमा आएका प्रतिक्रियाहरू पनि धेरैजसो घृणास्पद अभिव्यक्ति नै छन् । जे पनि लेखिएको छ, बोलिएको छ । कतिजनालाई पक्रिएर या जेल हालेर सक्नु ? बोल्दैमा जेल जाने अवस्था आउनुहुँदैन । आस्थाको सन्दर्भमा उनले गलत अभिव्यक्ति दिएकी हुन्, तर बोलेकै कारण जेल जानेचाहिँ प्रजातान्त्रिक मूल्यमान्यता भएको व्यवस्थाभित्र पर्दैन । प्रहरी थाना या जेल होइन शिक्षा र हुर्काइमा सुधार गरौँ ।