दुई दिनको माघेझरीले भक्तपुरमा नौ करोडका इँटा नष्ट

दुई दिनको माघेझरीले भक्तपुरमा नौ करोडका इँटा नष्ट


लगातार दुई दिन परेको वर्षाले भक्तपुरका ६२ इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन् । लगातार २४ घन्टा परेको वर्षाका कारण यहाँका इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका ८० प्रतिशत इँटा पूर्ण रूपमा नष्ट भएका भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्याम्बाले जानकारी दिए ।

उनले भने, ‘पोल्नलाई तयारी अवस्थामा राखिएका ८० प्रतिशत इँटा नष्ट भए, एउटा इँटाभट्टामा कम्तीमा आठ लाख र बढीमा नौ लाखको संख्यामा काँचो इँटा नष्ट भएका छन्, अब पोल्ने इँटा नै छैन, भट्टामा आगो जोगाउनै मुस्किल पऱ्यो ।’ इँटा नष्ट हुँदा व्यवसायीलाई करिब रु. नौ करोडबराबरको नोक्सान भएको अध्यक्ष ह्याम्बाले जानकारी दिए ।

काँचो इँटा नहुँदा भट्टाको आगो निभाउनुपर्ने अवस्था सिर्जना भएकाले झन् जोखिम बढेकोले आगो जोगाउन इँटा नभए पनि कोइला हालिरहनुपर्ने भएकाले दोहोरो खर्च बढेको उनको भनाइ छ । पुरानो इँटा मौज्दात भएकाले तत्काल इँटाको अभाव पनि नहुने र मूल्य पनि नबढ्ने उल्लेख गर्दै उनले व्यवसायीलाई समस्या परेकाले नगरपालिका र सरकारसँग कर छुट दिन माग गरे ।

वर्षाका कारण व्यवसायीलाई मात्रै नभई मजदुरलाई समेत निकै नोक्सान पुऱ्याएको छ । चाङ लगाएको इँटामा ३३ प्रतिशित नोक्सानी मजदुरले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । वर्षाले हुने क्षतिमा भुइँमा भएका र सुकाएका इँटाको सम्पूर्ण नोक्सानी मजदुरले व्यहोर्नुपर्ने र चाङ लगाएका इँटाको नोक्सानी भने ६७ प्रतिशत व्यवसायी र ३३ प्रतिशत मजदुरले व्यहोर्नुपर्ने व्यवस्था छ ।

इँटाभट्टाका मजदुर भकुण्डेबेंसीका रामबहादुर विकले वर्षाले इँटा नष्ट हुँदा निकै मारमा परेको बताए । उनले साहुले जिम्मा नलिएको इँटाको नोक्सानी सबै आफैँले व्यहोर्नुपर्ने भएकाले यहाँका सबै इँटाभट्टाका मजदुर इँटा नष्ट हुँदा मारमा परेका बताए ।
rss