आजबाट मौसममा पूर्ण सुधार : मौसम विभाग

आजबाट मौसममा पूर्ण सुधार : मौसम विभाग


पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आइतबारबाट पूर्ण सुधार हुने बताइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम भएपछि आजबाट मौसममा सुधार आउनेछ ।

हाल देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ र उपत्यका तथा तराईका केही स्थानहरूमा हुस्सु–कुहिरो लागेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ९ डिग्री र अधिकतम १६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ डिग्री सेल्सियसमा झरेको छ ।

आज देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशको पूर्वी भूभागलगायत मध्य तथा पीश्चमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने औंल्याएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद विभूति पोखरेलले बताइन् ।

उनका अनुसार भोलि पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ । मंगलबार पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रासस