प्रधानसेनापति थापाको कार्यकालको पहिलो भूपू सम्मेलन घोराहीबाट

प्रधानसेनापति थापाको कार्यकालको पहिलो भूपू सम्मेलन घोराहीबाट


■ नारायण न्यौपाने

प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालको पहिलो भूतपूर्व सैनिक सम्मेलन यही माघ १२ गते दाङको घोराहीबाट शुरु हुँदैछ । प्रत्येक प्रधानसेनापतिले आफ्नो कार्यकालमा सैनिक जीवनबाट अवकाश प्राप्त भूतपूर्व सैनिक सम्मेलन क्षेत्रगत रुपमा एकपटक गर्दै आउनुभएको छ । रुकुम, सल्यान, दाङ, प्यूठान र रोल्पा जिल्लामा स्थायी बसोबास गर्ने भूपूलाई लक्षित गरी माघ १२ गते घोराही ब्यारेक दाङमा यो शृङ्खलाको पहिलो भूपू सम्मेलन हुँदैछ ।

उक्त सम्मेलनका क्रममा भूपूलाई लक्षित गरी स्वास्थ्य उपचार सेवा, सहभागीलाई दैनिक भ्रमणभत्ता, लघुवित्त कार्यक्रमका ऋणीलाई चेक हस्तान्तरण, सर्वोत्कृष्ट र उत्कृष्ट व्यवसायीलाई पुरस्कार, ज्येष्ठ सैनिक र एकलको सम्मान एवं अशक्तलाई ह्विल चियर प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

सम्मेलनमा सैनिक नेतृत्वसँग भूपूले आफूलाई परेको पीरमर्का सुनाउने र नेतृत्वले त्यसलाई सम्बोधन गर्न आवश्यक पहल गर्ने विषयमा छलफल हुनेछ । यसखाले सम्मेलनलाई भूपूसैनिकले आफ्ना सहपाठी पल्टनियासँगको अभूतपूर्व जमघटका रुपमा लिने गर्दछन् ।

सम्मेलनको मुख्य समारोहस्थलमा उमेरले आठ दशक पार गरेका भूपूले निकै जोस र जाँगरका साथ पिटी परेड प्रस्तुत गर्नेछन् । नेपाली सेनाको व्यवस्थापन र कल्याणकारी बोर्डको संयोकत्वमा मुलुकका सातै प्रदेशमा यसखाले सम्मेलन हुनेछ । सम्मेलनका क्रममा भूपू र तिनका आश्रित परिवार एवम् एकल महिलाको क्षेत्रगतरुपमा ठूलो सङ्ख्यामा उपस्थित रहनेछ ।

विगतमा द्वन्द्वका कारण १५ वर्षसम्म स्थगन भएको भूतपूर्वसैनिक सम्मेलन २०७० साल माघबाट पुनः आरम्भ गरिएको थियो । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा जीवनको महत्वपूर्ण क्षण बिताएका भूपूको सङ्ख्या ७० हजार छ । नेपाली सेनाको कल्याणकारी बोर्डको संयोजनमा भूपू सम्मेलन हुँदै आएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकले लघुवित्त कार्यक्रममार्फत सहुलियत ब्याजदरमा नेपाली सेनाको संयोजनमा भूपूलाई सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउँदै आएको छ । उक्त कर्जा लिएर लघुवित्त कार्यक्रम सञ्चालन गर्ने भूपू र आश्रित परिवारको सङ्ख्या १० हजार पुगिसकेको छ ।

प्रदेश नं ५ मा घोराहीपछि भूपूसैनिक सम्मेलन फागुन १४ गते बुटवल र फागुन १५ गते नेपालगञ्जमा हुनेछ । यस्तै माघ १३ गते कर्णाली प्रदेशको सुर्खेत र २४ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ । यसैगरी गण्डकी प्रदेशमा आगामी चैत १७ गते तनहुँको खैरेनीटार र १८ गते पोखरामा हुने नेपाली सेनाले जनाएको छ ।

file pic