गायिका आस्थालाई ‘सोधपुछ’ गर्नुपर्ने देखिएको प्रहरीको भनाई

गायिका आस्थालाई ‘सोधपुछ’ गर्नुपर्ने देखिएको प्रहरीको भनाई


आफूलाई प्रहरीले ‘तँ’ भनेर दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतले बिहीबार (२ माघ) सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री (भिडियो) प्रकाशमा ल्याइन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको छ ।

दश मिनेट ३१ सेकेन्डको भिडियोमा गायिका आस्थाले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुन्न सकिन्छ । यसरी आस्थाको भिडियो भाइरल बनिरहेकै क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको शुक्रबार सिसी टिभी फुटेज नै सार्वजनिक भयो । उक्त ‘फुटेज’मा प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिन्छ ।

सिसी टिभी फुटेजमा महिला प्रहरीले सुुरक्षा जाँचका बेला कुनै दुव्र्यवहार गरेको नदेखिने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रतिक्रिया दिएका छन् । राउतले नै अभद्र व्यवहार गरेको फुटेजमा देखिएको भन्दै घटनाको अनुसन्धान भइरहेको डिआइजी पोखरेललाई उद्धृत गर्दै राससले जनाएको छ ।

यस विषयमा घटनासम्बन्धित महिला प्रहरीद्वारा महानगरीय प्रहरी कार्यालयमा घटनाको विवरणसहित जानकारी गराइएको पनि बुझिएको छ । उक्त विवरणमा ‘सुरक्षाको जाँच गर्न खोज्दा किन गर्नुपऱ्यो, म गायिका हो, चिन्नु भएन ?’ भनेर गायिका राउतले उल्टै प्रश्न गरेको फुटेजमा उल्लेख रहेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको भनाई छ । राउतलाई बोलाएर सोधपुछ गर्ने अवस्था देखिएको भन्दै महिला प्रहरीबाट कुनै दुव्र्यवहार नभएको जिकिर एसएसपी बज्राचार्यको भनाई छ ।

घटना बुधबार अपराह्नको हो । राउत त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट भद्रपुर जाँदै गर्दा उक्त घटना भएको थियो ।