‘बृहत् एकीकरण मार्ग कार्यक्रम-२०७६’ आरम्भ

‘बृहत् एकीकरण मार्ग कार्यक्रम-२०७६’ आरम्भ


प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘बृहत् एकीकरण मार्ग कार्यक्रम-२०७६’ को जंगी अड्डामा बिहीबार आयोजित एक विशेष कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ ।

उद्‍घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानसेनापति थापाले राष्ट्रिय एकताको संरक्षण र सम्बर्धन गर्ने संवैधानिक जिम्मेवारीसमेत प्राप्त गरेको नेपाली सेनाले शुरुमा ऐतिहासिक गढी, किल्ला तथा एकीकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ शुरु भएको कार्यक्रमलाई थप व्यवस्थित बनाउन ‘इतिहास संरक्षण एवं सम्बर्द्धन कार्यमा नेपाली सेनाको सहभागिता सम्बन्धी निर्देशिका-२०७८’ समेत लागू गरी कार्य सम्पादन शुरु गरिएको बताउनुभयो । उहाँले एकीकरण मार्ग कार्यक्रमअन्तर्गत इतिहास र संस्कृतिको सम्बर्द्धन एवम् प्रवर्द्धनगर्ने कार्यक्रमहरु तर्जुमा गर्ने कार्यमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरु, विभिन्न मन्त्रालय, पुरातत्व विभाग, पर्यटन बोर्ड, इतिहास तथा संस्कृतिविद्हरुबाट संस्थागत वा व्यक्तिगत तवरबाट प्राप्त भएको साथ–सहयोग आफैमा अभिप्रेरक भएको बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने सेमिनारको आगामी आइतबार (५ पुस) उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट समापन हुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

कार्यक्रममा नेपाल सरकारका सचिवहरु, प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरु, विभिन्न मन्त्रालय तथा विभागहरुका महानिर्देशक तथा निर्देशकहरु, इतिहासविद्, संस्कृतिविद्, नेपाली सेनाका उच्चाधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।

यस प्रकारको सेमिनारबाट प्राप्त हुने प्रतिक्रिया, सृजनात्मक सोच र अवधारणाहरुले एकीकरण मार्ग कार्यक्रमसम्बन्धी दीर्घकालीन र एकीकृत योजना बनाउन सहयोग पुग्नुका साथै राष्ट्रिय एकताको सम्बर्धन र प्रवर्धनमा थप टेवा पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको जनाइएको छ ।