सिंहदरबार : कैदीहरूको निकुञ्ज

सिंहदरबार : कैदीहरूको निकुञ्ज


■ प्रथा

यो जिन्दगीको भिरमा
किन फुल्दैनन्
मेरा खुसीका भिरफूलहरू
र त्यो पहाड जिस्क्याइरहन्छ मलाई ?
कहाँ बगेर जाँदो हो
पसिनाको यति ठूलो मर्स्याङ्दी नदी
र जीवनको डालीमा बसेर
काकाकुल बासिरहेछ– एउटा भोको समय ?

भन त च्याङ्बादाइ !
आफूभन्दा बूढो चस्मा लाएर
जिन्दगीको अक्कर
एक्लै हिँडिरहेको निरक्षर बटुवाले
दृष्टि–लम्बाइको परिधिभित्र जीवनको लक्ष्य देख्छ कि भ्रम ?

मेरो खर्पनले तौलिएर
वर्षौंदेखि थुप्रिरहेको यो ओजन
फगत बालुवा हो कि – यही देशको सीमाहीन माया ?
लिहीमाथि पिटिइरहेको तातो फलाम
धम्मरधनको पीडा हो कि
यो देशको अनुहार मेटिएको राष्ट्रियता ?
हलगोरु नारेर
अहिलेसम्म मैले जोतिरहेको
गैरीखेत हो कि – यो देशको अनिश्चित भविश्य ?
र यो नाम्लोको बरियोमा भुन्डिएर
आत्महत्या गरिरहेको सपना
सपनाकै त्यान्द्रो हो कि एडम स्मिथको अर्थशास्त्र ?

भन त कटुवालदाइ !
पोखरीको हरियो पानीमाथि बसेर
शास्त्रीय सूत्रहरू
तमासले घोकिरहेको भ्यागुतोलाई
भौतिकशास्त्रको दर्शन पढ्न लगाइयो भने
उसले सिद्धान्तको सिर्जनशीलता बुझ्छ कि जडता ?

किन गरिँदै छ बन्द – श्रमको ढोका
र खाडीमा उँट चराइरहेछन् – सपनाशून्य गोठालाहरू ?
कहाँबाट काटिँदै छ – कुलेसो
र रित्तिरहेछ – मानवशास्त्रको गहिरो तलाऊ ?
कसरी छिर्दै छन् धमिराहरू
र वर्षेनी पैह्रो झरिरहेछ – बजेटको अग्लो पहाडमा ?
कसले बनाउँदै छ
विचारको हँसिया यसरी भुत्ते
र फैलिरहेछ वनमारा – यो राष्ट्रिय निकुञ्जभरि ?

भन त चुनु !
चिया पसलमा बसेर
क्रान्तिगीत गाइरहेको सुगा देखेपछि
समरको बारुद टकटक्याएर
भर्खरै गुँड छिरेका
वनचरीहरूमा अपनत्व उर्लेर आउँछ कि घृणा ?

अदालतको ढोकामा उभिएर
मृत्युको भीख मागिरहेको – बूढो कैदी हो कि यो देश ?
झण्डाको पछाडि लुकेर
यो रोगी अर्थतन्त्रको बिस्कुनमाथि
सदियौँदेखि,
यसरी फ्याउरी नचाइरहेको
नजिकको छिमेकी हो कि – सकुनीजस्तै सिंहदरबार ?
किन मेटिन्छन्
देख्न नभ्याउँदै हाम्रा सपनाहरू
र मरुभूमि ओर्लिन्छ
हरेकचोटि करोडौँ मनका आँगनहरूमा ?

भन त सान्कान्छी !
भाउन्ने बेथाले थलिएर
स्वाद गुमाएका रोगी थकालीबा’ले
नुन चटाइदिँदा – नुनिलो भन्छन् कि गुलियो ?

मनको मुहान फुटेर
छातीको कुलेसो हुँदै बगिरहेको कालिगण्डकी
कुनै माफिया ठेकेदारको
झोलाको खोला हो कि – समाजशास्त्रको आँसु ?
सिङ्गो युग निदाएर
भर्खरै ब्युँझिएको अघोरीले
ज्ञानको आदिम स्रोत मै हुँ भनेझैँ
म दिवालिया खोरमा थुनिन चाहन्न, हजुर !

पखेटा नभएको किवीचरीले
उड्ने सपना देखेझैँ
म जिन्दगीसँग ठट्टा गर्न जान्दिन, हजुर !
भन्नोस् न सरकार, भन्नोस्
मूल्यसूची टाँसिएको,
नेसनल ट्रेडिङको बोर्ड कहाँनेर छ ?
म यो नागरिकता बिक्री गर्न चाहन्छु !