सहकारीको कार्यक्रममा सूचना प्रविधि विधेयकको विरोध

सहकारीको कार्यक्रममा सूचना प्रविधि विधेयकको विरोध


राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खड्काले सरकारले ल्याएको सूचना प्रविधि विधेयक तुरून्त खारेज हुनुपर्ने बताएका छन् । परिवर्तनशील सहकारी संस्थाको सातौँ वार्षिक साधरणसभामा अतिथिको आसनबाट सम्बोधन गर्दै युवा नेता खड्काले मानव स्वतन्त्रतामा संकुचन ल्याउन सरकारले सूचना प्रविधि विधेयक ल्याएको आरोप लगाए ।

२१औँ शताब्दिमा मानवीय स्वतन्त्रता, मूल्य र मान्यता बहुमुल्य भएको भन्दै विधेयकलाई नेकपाका विरोधी तह लगाउन हतियार नबनाउन सरकारसँग उनले आग्रह गरे । दुई तिहाइको कम्युनिस्ट सरकारले मुलुकको आर्थिक गतिविधि शुन्यमा झारेको, व्यापारीलाई आर्थिक कठिनाईमा पारेको आरोप मात्र नलगाई उनले मुलुकको आर्थिक अवस्था रेमिट्यान्सको भरमा रहनु गलत भएको तर्क गरे । स्वदेशमै उद्यम र उत्पादनको माहोल पैदा नगरी देश समृद्धिको दिशामा नजाने भन्दै उनले वर्तमान सरकाले यसतर्फ पटक्कै ध्यान नदिएको दाबी गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा बचत तथा ऋण सहकारी संघका पूर्व केन्द्रीय अध्यक्ष डिबी बस्नेत, नेकपाका केन्द्रीय सदस्य गंगा कार्की लगायतले आफ्नो धारणा राखेका थिए । मोहन कार्कीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना दिएका थिए । संस्थाको सातौँ साधरणसभाले नयाँ कार्यसमिति गठनको साथै संस्थाको वार्षिक आयव्यय पारित गरेको छ।