क्रिकेट रङ्गशाला निर्माणमा सहयोग जुटाउन महायज्ञ लगाइने

क्रिकेट रङ्गशाला निर्माणमा सहयोग जुटाउन महायज्ञ लगाइने


पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुऱ्याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य विजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ ।

रङ्गशाला निर्माणस्थलमा नै महायज्ञ लगाइने जानकारी दिँदै समितिका महासचिव दिनेशकुमार चुकेले महायज्ञबाट ५० करोड सङ्कलन गर्ने लक्ष्य रहेको बताए । महायज्ञको मूल वाचकका रुपमा पण्डित दिनबन्धु पोखरेल रहने पनि उनले जानकारी दिए ।

धुर्मश सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणले निरन्तरता पाएको जानकारी दिए । उनका अनुसार मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ । पछिल्लो समय रङ्गशाला निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ । सहयोग जुट्ने क्रम पनि निरन्तर रुपमा अघि बढेको छ ।

रङ्गशालाको आकार आउने गरी काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको कट्टेलले बताए । राससका अनुसार रङ्गशालामा नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् । ५० ओभरका तीनवटा पिच तयार भएर तीनै खेलमैदानमा खेल भएका हुन् । रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएको छ । रङ्गशाला सम्पन्न गर्न दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ ।