अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको तेश्रो दिन प्रिमियर विजयी

अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको तेश्रो दिन प्रिमियर विजयी


राजविराज । सप्तरी क्रिकेट संघसँगको सहकार्यमा ग्रिन नेपाल राजविराजको आयोजनामा राजविराजस्थित राजरंगशालामा संचालित अन्तरविद्यालय जिल्लास्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतवार तेश्रो दिनको खेलमा प्रिमियर सेकेण्ड्री स्कुलले रोज पब्लिक सेकेण्ड्री स्कुललाई २२ रनले पराजित गरेको छ ।

आइतबार सम्पन्न एक मात्र खेलमा प्रिमियर सेकेण्ड्रीले टस जिती पहिलो ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाई १ सय ७१ रनको योगफल तयार पारेका थिए । प्रिमियरका लागि युवराज यादवले नटआउट रही २१ बलमा ५ चौकाको मद्धतले ३५ रन तथा मो. सदाम ३४ र प्रदीप यादवले २४ रनको योगदान दिएका थिए । बलिङतर्फ रोज पब्लिकका तर्फबाट मनिस साह र नन्दकिशोर मण्डलले सामान २ विकेट तथा राहुल यादव र विशाल साहले सामान एक विकेट लिएका थिए ।

१ सय ७२ रनको विशाल लक्ष्य लिई मैदानमा ओर्लेको रोजपब्लिकले राम्रो प्रयास गरेता पनि निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४९ रन मात्र जोड्न सकेका थिए । रोजपब्लिकका लागि कृष्णा चौधरीले नटआउट रही ३५ रन तथा सत्यम झा र रोशन यादवले क्रमशः ३१ र ३३ रनको योगदान दिएका थिए । प्रिमियरका लागि जय बर्माले ३ तथा मो. सदाम, मो. असलम र रोहित गुप्ताले सामान १ विकेट लिएक थिए । खेलको म्यान अफ द म्याच प्रिमियर सेकेण्ड्रीका मो. सद्धामलाई किर्तिमानी क्रिकेटर महवुव आलमद्वारा नगद तथा ट्रफी प्रदान गरिएको थियो ।

आगामी मंगलवार (२९ पुस) प्रिमियर सेकेण्ड्री र दुर्गा सेकेण्ड्रीबीच खेल हुने आयोजक समितिका संयोजक खेलानन्द दासले जानकारी दिएका छन् ।