गोर्खा कप -२०१४ सफलताका साथ सम्पन्न

गोर्खा कप -२०१४ सफलताका साथ सम्पन्न


लण्डन । यो सालको गोर्खा कप केही नयाँ आकर्षणका साथ सफल भएको छ । राम्रो मौषमले गर्दा पनि यो सालको गोर्खा कप रमाइलो भएको सहभागीहरुको भनाइ रहेको थियो । यूकेका विभिन्न स्थानहरुबाट लगभग ६, ७ घण्टाको यात्रा गरेर पनि आफ्नो सम्पूर्ण परिवारका साथ आउने सहभागीहरुको उत्साहलाई ध्यानमा राख्दा गोर्खा कप एक कार्यक्रम वा प्रतियोगिता मात्र नभएर एक नेपाली उत्सवको रुपमा रहेको स्पष्ट देखिन्थ्यो । वेल्सको ब्रेकनबाट आए तूल बहादुर गुरुंगको पूरा परिवार यसरी गोर्खा कपको मेला(तूलबहादुरका अनुसार) मेला भर्न आएको यो साल सातौं पटक थियो । पहिलो साल एक्लै आएका उनी दोस्रो साल श्रीमतीसहित अनि अर्को साल (उनका अनुसार) साढे दुई अर्थात् गर्भवती श्रीमती, अनि त्यसपछिको साल, एक छोरा, त्यसपछि साढे तीनजना र लगत्तै अर्को साल एक छोरीसहितको चारजना गरेर लगातार यहाँ आउनुलाई लागेको रमाइलोको साथ बताउने गुरुंगको साथ साथमा वेल्सबाट धेरै यसरी गोर्खा कप आउने गर्दछन् । यसरी मेलाको रुपमा प्रसिद्ध भएको गोर्खा कप वास्तवमा फुटबल प्रतियोगिता गरिने कार्यक्रम भए तापनि वास्तवमा यो यूकेका नेपालीहरुको जमघट हुने ठाउँ हो ।
यो साल, बालबच्चाहरुका लागि चिल्ड्रेन गेम सो विशेष रुपमा नयाँ भएको थियो भने त्यसले निक्कै नै रमाइलो थपिरहेको लाग्दथ्यो । विभिन्न खानाका परिकारहरुका स्टललगायत अन्य पशलहरुका स्टलहरु योपालि ज्यादा थपिएका थिए, त्यो अर्को प्रकारले हाट बजार जस्तो लाग्दथ्यो । राम्रो मौषमले गर्दा दिनको मध्यान्हपछि दर्शकहरु प्रशस्तै थपिएका थिए ।
अल्डरसटको क्वीनस् एभेन्यूमा आयोजित गोर्खा कपमा भेटेरान र नन भेटेरानका ४८ क्लवहरुको प्रतियोगितात्मक प्रदर्शनी, ब्रिग्रेड व्याण्ड अफ गोर्खाका खुकुरी डान्स प्रदर्शनीले योपटक धेरै दर्शकहरु खिँच्न सफल भएको थियो ।
योपालिको गोर्खा कप (२०१४मा भेटेरान जीसी कप २०१४ जित्न सफल धरान समाज यूकेले एक गोलले साहारा यूकेृलाई हराएर जित्न सफल भएको छ भने ननभेटेरान जीसी २०१४ कप, सहारा यूकेलाई एकका विरुद्ध दुई गोल गरी तोंग्वा फुटबल क्लव यूकेले जित्न सफल भएको छ । भेटेरान जीसी कपमा बेस्ट प्लेयरमा धरान समाज यूकेका सूर्य विक्रम राई चुनिएका छन् भने टप स्कोररमा पदम लिम्बू छानिएका छन्, त्यस्तै ननभेटेरान जीसी कपमा तोंग्वा फुटबल क्लवका अर्पन गुरुंग र बी १३का वुद्ध गुरुंग टप स्कोररमा छानिएका छन् ।
विजेताहरुलाई संयुक्त रुपमा रशमुर बोरोहका काउन्सिल टेरी ब्रिज्मान, का.वा. राजदूत तेज बहादुर क्षेत्री, तमू धिं यूकेका अध्यक्ष कमल गुरुंग र एनआरएनए यूकेका अध्यक्ष योगेन क्षेत्रीले ट्रफी तथा पुरस्कारहरुलगायत प्रमाणपत्रहरु प्रदान गरेका थिए ।
मन्तव्य दिने क्रममा रशमूरका काउन्सिल टेरीले यस्तो प्रकारको इभेन्टले सबै कम्युनिटिहरुलाई एक साथ ल्याउन सफल भएको बताए भने का.वा. राजदूत क्षेत्रीले स्थानीय मूलधारमा प्रवेह गर्ने राम्रो कार्य भएको बताएपछि तमू धिं यूकेका अध्यक्ष गुरंगले सबैलाई धन्यवाद दिएका थिए ।

तस्वीरसहित नीर खड्का