सप्तरीमा लागुऔषधसहित पेस्तोल र गोली बरामद

सप्तरीमा लागुऔषधसहित पेस्तोल र गोली बरामद


सशस्त्र प्रहरीले सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुरबाट एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र लागुऔषध फेला पारेको छ । बेवारिसे अवस्थामा फेला परेको हतियार र लागुऔषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी गण नम्बर ६ का सशस्त्र प्रहरी उपरिक्षक उद्धव न्यौपानेले जानकारी दिए ।

सशस्त्र प्रहरी बल बेस क्याम्प गोविन्दपुरका सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीको कमाण्डमा खटिएको टोलीले कटुवा पेस्तोल र गोलीसहित डाईलेक्स डिसी १०० मिलिलिटरको १५ बोतल बरामद गरेको हो । गस्ती गर्दै जाँदा बाँसको झ्याङ्गमा प्लाष्टिकको झोलामा लागु औषध, पेस्तोल र गोली फेला पारेको बताइएको छ ।

यसैबीच, छिन्नमस्ता गाउँपालिका कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुरु गरेको धर्नाले सम्पूर्ण कामकाज ठप्प बनेको छ । चौधबुँदे माग राखेर नेकपा छिन्नमस्ताले शुरु गरेको धर्नाले गाउँपालिका कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको हो ।

अविलम्ब वडा भेला र गाउँसभा गर्नुपर्ने, गाउँपालिकामा भएको भ्रष्टाचारविरुद्ध सर्वपक्षीय छानविन समिति गठन गर्नुपर्ने, आर्थिक वर्ष २०७५÷७६ को आयव्यय सार्वजनिक गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलन शुरू गरिएको बताइएको छ । माग पूरा नभएसम्म धर्ना कार्यक्रम जारी रहने संघर्ष समितिका संयोजक विनोदकुमार यादवले बताए ।