भ्रष्टको पहिचान तथा निवारणका लागि अख्तियारका अधिकारीलाई तालिम

भ्रष्टको पहिचान तथा निवारणका लागि अख्तियारका अधिकारीलाई तालिम


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना अधिकारीको दोस्रो ब्याचले गुजरात (भारत)को गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभर्सिटी (GFSU) मा ‘ठगी, घूसखोरी र भ्रष्टाचार निवारण’ विषयमा ६ दिवसीय प्रशिक्षण सुरु गरेका छन् । सोमबार (२१ पौष)बाट शुरु भएको प्रशिक्षण कार्यक्रमले सम्बद्ध नेपाली अधिकारीहरूको क्षमता विकासमा भारतको निरन्तर प्रतिबद्धतालाई पुष्टि गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै २१ जना अधिकारीको पहिलो ब्याचले GFSU मा गत ३० मंसिरदेखि पौष ५ सम्म सोही विषयमा प्रशिक्षण लिइसकेका छन् । संकायका अनुभवी सदस्यहरूबाट सञ्चालित सो प्रशिक्षण नेपाली अधिकारीले अत्यन्तै राम्रो र फलदायी रहेकोे प्रतिक्रिया दिएका थिए । नयाँ तथा उपयोगी विचारसहित अनुसन्धान कार्यलाई अघि बढाउन सो प्रशिक्षणले नेपाली अधिकारीलाई सक्षम बनाएको तालिम आयोजक पक्षको भनाई छ ।

बताइएअनुसार नेपाल सरकारको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका जम्मा ४२ अधिकारीका लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो । नेपालमा भ्रष्टाचारका गतिविधिहरूमा अंकुश लगाउन एवम् सुशासन कायम राख्न यो कोर्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्नेछ । मुख्यतः भ्रष्टाचारका कारकहरूको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरूमा यो कोर्ष केन्द्रित छ । सूचना प्रविधिमा आधारित अनुसन्धानका लागि यो कार्षले अधिकारीको सीप अभिवृद्धि गर्नुका साथै उनीहरूको विश्लेषणात्मक क्षमतालाई तिखारी नयाँ विधिहरू सिक्नलाई मद्दत गर्ने बताइन्छ । अन्ततः यसले भ्रष्ट तथा ठगी गर्ने व्यक्तिहरूको पहिचान, निवारण एवम् कानूनी कारवाही गर्न यी अधिकारीलाई सक्षम बनाउने तालिम आयोजक पक्षको दाबी छ ।

फरेन्सिक विज्ञान, अपराध अनुसन्धान, सुरक्षा तथा व्यवहार विज्ञान र अपराध विज्ञान क्षेत्रमा फरेन्सिक विज्ञलाई प्रशिक्षण दिनका लागि प्रख्यात गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभर्सिटीमा अधिकारीलाई प्रशिक्षण दिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (ITEC) कार्यक्रमअन्तर्गत रहेको छ ।