खाडी क्षेत्रमा तनाव बढेपछि भारतीय विदेशमन्त्रीको सक्रियता

खाडी क्षेत्रमा तनाव बढेपछि भारतीय विदेशमन्त्रीको सक्रियता


भारतका विदेशमन्त्री एस जयशंकरले खाडी क्षेत्रमा हालै शुरु भएको खाडी क्षेत्रको तनावका विषयलाई लिएर अमेरिकालगायतका आफ्ना केही देशका समकक्षीसँग वार्ता गरेका छन् । विदेशमन्त्री जयशंकरले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ, संयुक्त अरब इमिरेट्स (यूएई)का शेख अब्दुल्लाह बिन जायद अल नयन र ओमानका परराष्ट्र मन्त्री युशुफ बिन अलादी बिन अब्दुल्लाहसँग आइतबार फोनवार्ता गर्नु भएको जनाइएको छ ।

उनले आइतबार राति पछिल्लो समयमा खाडी मुलुकमा विकास भएको अवस्थालाई लिएर अमेरिका, युएई र ओमनका विदेशमन्त्रीहरुसँग फोनवार्ता भएको कुरा आफ्नो ट्वीट अकाउन्टमार्फत जानकारी गराएका छन् । पछिल्लो समयमा अमेरिका र इरानबीच तनाव बढेको छ । यस विषयमा के कसरी अघि बढ्ने भन्ने बारेमा उनीहरुबीच फोनवार्ता भएको समाचारमा जनाइएको छ ।

उनले युएईका विदेशमन्त्री शेख अब्दुल्ला बिन जायद र ओमानका परराष्ट्रमन्त्री युशुफ बिन अलावी बिन अब्दुल्लाहसँग इरानमा विकसित परिस्थितिका बारेमा केन्द्रित रहेर कुराकानी गरेको जानकारी गराएका सिन्ह्वाले जनाएको छ । वार्ताका क्रममा खाडी क्षेत्रमा विकसित घटनाक्रमका बारेमा आ–आफ्ना धारणा आदानप्रदान भएको जानकारी गराइएको छ ।

त्यसक्रममा विदेशमन्त्री जयशंकरले खाडी क्षेत्रमा शान्ति, स्थायित्व र सुरक्षाका विषयमा भारतको चासो रहेको समकक्षीहरुलाई बताएका थिए । यसअघि विदेशमन्त्री जयशंकरले इरानी समकक्ष मोहम्मद जावेद जरीफसँग पनि फोनवार्ता गरी खाडीमा व्याप्त तनावको अवस्थालाई कम गर्न इरानले मुख्य भूमिका खेल्न सक्ने बताएका थिए ।

इराकको राजधानी बग्दादको अन्तरराष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एकजना इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा तनाव उत्पन्न गरिदिएको बताइएको छ । शुक्रबार अमेरिकी सेनाको कारबाहीमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएका थिए ।

यसका कारण अमेरिका र खाडी देशका बीचको तनाव थप बढेको विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले इराकको राजधानी बगदादबाट जनाएका छन् । अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके बताउँदै आएको सुलेमानी अमेरिकी सेनाको कारबाहीमा मारिएपछि इरानले अमेरिकासँग बदला लिने धम्की दिएको छ ।

तर, उत्तेजक नहुन र संयमता अपनाउन विभिन्न देशले इरानलाई आग्रह गरिरहेका छन् । यस कारबाहीको चीन, रुस र सिरियाले पनि आलोचना गरेका छन् । तर यूरोपेली सङ्घले भने थप हिंसा भड्किन नदिन सबै पक्षलाई संयमित बन्न आग्रह गरेको छ ।

बग्दादमा भएको यस आक्रमणले खाडी क्षेत्रमा हाल जारी रहेको तनावलाई थप बढाउने आशङ्का विश्व समुदायले गरेको छ । उता अमेरिकाले पनि यदि इरानले आफ्नो क्षेत्र तथा अमेरिकी नागरिकमाथि हमला गरेमा इरानका विभिन्न क्षेत्रमा आक्रमण गर्ने योजना बनाएको बताएको छ । यसै विषयमा यतिखेर विश्व समुदाय चिन्तत रहेको र विदेशी समुदायले पनि आ–आफ्ना क्षेत्र र समकक्षीहरुसँग आपसमा वार्ता गरी खाडीको तनावलाई कसरी कम गर्ने भन्ने बारेमा परामर्श गरिरहेका बताइएको छ ।