टोकियोमा शिव-पार्वतीको हिन्दु मन्दिर किन पऱ्यो ओझेलमा ?

टोकियोमा शिव-पार्वतीको हिन्दु मन्दिर किन पऱ्यो ओझेलमा ?


■ श्याम क्षेत्री, (टोकियो) जापान

जापानको टोकियोस्थित शिनओकुबोमा रहेको शिव(पार्वतीको हिन्दु मन्दिर प्रचारप्रसारको कमीले गर्दा ओझेलमा पर्दै आएको छ।

नेपाललगायत अन्य विदेशी मुलका सनातन हिन्दु धर्ममा आस्थावान हिन्दुहरुले मिलेर सनातन हिन्दु फाउण्डेशन जापानमार्फत मन्दिर सञ्चालन गर्दै आइरहेका छन्। जापानमा नेपालीलगायत अन्य देशका हिन्दुहरुको संख्या निकै नै बढि रहेता पनि मन्दिर प्रचारप्रसारको कमी र जापानमा कामले गर्दा समयको अभावले मन्दिरमा भक्तजनहरु कम आउने गरेको कुरा फाउण्डेशनमा रहनुभएका उत्तम मित्र बताउनुहुन्छ।

करिव डेढ वर्ष अगाडिदेखि स्थापना गरिएको उक्त मन्दिर हरेक दिन विहान साँझ खुल्ने गरेको छ। सनातन हिन्दुधर्ममा आस्थावान् भक्तजनहरु पुजा, पाठ, ध्यान, आरती विवाह ब्रतबन्धलगायत सम्पुर्ण हिन्दु कर्मकाण्डका लागि आउने गरेको कुरा गुल्मी मुसिकोटनिवासी मन्दिरका पुजारी मेघराज घिमिरे बताउनुहुन्छ।

मन्दिर सञ्चालन गरिरहेको फाउण्डेशनमा नेपाली, बंगलादेशी र भारतीय गरी पाँच सदस्यीय समिति रहेको छ। शिवपार्वतीको सो मन्दिर स्थापना भएदेखि नै भाडाको भवनमा रहेको छ भने निकट भविष्यमा आफ्नै जग्गामा मन्दिर निर्माणका गर्न फाउण्डेशन लागिपरेको छ।

विदेशमा रहेता पनि सनातन हिन्दु धर्म संस्कृति आफ्नो परम्परा जोगाउन स्थापना गरिएको उक्त शिवपार्वतीको मन्दिर निर्माणका लागि सम्पुर्णमा सहयोगको लागि फाउण्डेशनले अनुरोधसमेत गरेको छ ।