तपाईं पनि खाने कि मृगको सुकुटी ?

तपाईं पनि खाने कि मृगको सुकुटी ?


■ राजन घिमिरे, सिड्नी

तपाईं सुकुटी त पक्कै मनपराउनुहुन्छ होला ! त्यसमा पनि मृगकै सुकुटी फेला पऱ्यो भने त…? विश्वास नलाग्न सक्छ, तर अब अविश्वास गर्नुपर्ने आधार नै छैन । अष्ट्रेलियाको सिड्नी रगडेलस्थित श्री मःम हाउसका सञ्चालक लीला कार्की द नेप्लिज किचनमार्फत मृगको सुकुटीसँगै नेपाली स्वादलाई विश्व बजारमा पुऱ्याउन जोडतोडका साथ लागिपरेका छन् । ‘नेपाली स्वाद र परिकारलाई विश्वमाझ पुऱ्याउनु नै मेरो लक्ष्य हो’– उनले भने ।

प्रवासिएका नेपालीहरूलाई ‘किन विदेशिनुभएको ?’ भनी प्रश्न गर्दा प्रायः जवाफ आउने गर्छ– धन कमाएर आफू र आफ्नो परिवारको जीवन सुखमय बनाउन !’

एक कोणबाट यो कुरा सही नै हो, तर विदेशिने सबैको उद्देश्य या ध्येय धन नै कमाउने भन्ने मात्र हुँदैन । मूलुक छोड्दा आफूले स्वदेशमा जे काम गरेको थियो वा जून विधा या पेशामा आफूले आवद्धता जनाएको थियो, प्रवासमा पनि त्यही क्षेत्रमा सक्रियता हुने समय, परिस्थिति र अवसर भने कमैलाई मात्र प्राप्त हुन्छ । यस्तै विरलकोटीका कमै नेपालीमध्य पनर्छन् लीला कार्की ।

लीला यतिबेला अष्ट्रेलियाको सिड्नीमा सपरिवार बसोबास गर्छन् । सिड्नीको नेपालीहरूको बाक्लो बस्ती रहेको रगडेलमा रहेको मःम हाउसका सञ्चालक लीला मःम हाउसमा नेपाली स्वादको मःम पकाएर मात्र खुवाउँदैनन् कि मःमको बजार ब्यवस्थापन गर्दै नेपाली स्वादलाई जन–जनमा पुऱ्याउन लागिपरेका छन् । द नेप्लिज किचन नामक आफ्नै संस्थामार्फत नेपाली स्वादलाई विश्वमाझ पुऱ्याउन लागिपरेका छन् उनी ।

दोलखाका लीलाले केही वर्ष नेपालको सांग्रिला होटलमा सिनियर सेफको रूपमा पनि काम गरे । उल्लेखनीय कुरा के छ भने उनी विश्वकै पहिलो नेपाली हुन् जसले नेपाली स्वादमा मृगको सुकुटी प्याकिङ गरेर विश्व बजारमा पुऱ्याउन कानुनी अधिकार पाएका छन् ।

‘म मृग र राँगाको सुकुटीका साथै बफ र चिकेन मःमलाई नेपाली स्वादका साथ विश्व बजारमा पु¥याउन लागिपरेको छु । यसमा मलाई सफलता पनि हात लागिरहेको छ’, उनले भने– ‘अष्ट्रेलियन सरकारबाट द नेप्लिज किचनलाई क्याटरिङ र फुड उत्पादन गरेर बिक्री–वितरण गर्ने अनुमति प्राप्त भएकोले पनि म कानुनी रूपमै बलियो भएर आफ्नो पेशामा लागिरहेको छु ।’

पहिला सन् २००० मा घुम्नका लागि अष्ट्रेलिया आएका लीला स्थायी रूपमा भने सन् २००६ देखि अष्ट्रेलिया हानिएका हुन् । उनले तयार पारेका मःमका विभिन्न स्वादका साथै मुला, बफ र चिकेनको अचार सिड्नीका पसलहरूमा मात्र नभई अष्ट्रेलियाका अन्य शहरमा पनि पाइन्छन् । अहिले लीलाले तयार पारेका मःम, सुकुटी, मुला, बफ र चिकेनको अचार नेपालीहरू बढी बसोबास हुने मुलुकहरू जापान, बेलायत र अमेरिकालगायतमा निर्यात हुने गर्दछ ।