चर्को बार्गेनिङ गर्दै प्रचण्ड

चर्को बार्गेनिङ गर्दै प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रतिनिधिसभाको सभामुख चयन प्रमुख नेताहरूको प्रतिष्ठा र ‘इगो’को विषय बन्न पुगेको छ । सचिवालय बैठकमा सभामुखको विषयमा पटकपटक एजेण्डा बनेर पनि सहमति बन्न सकेको छैन । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा रहेको बुझेपछि कार्यकारी अध्यक्ष प्रचण्ड कुनै पनि हालतमा नेम्वाङलाई सभामुख बन्न नदिने अड्डी लिँदै हुनुहुन्छ । सभामुखको विषय टुङ्गो नलागेकोले संसद् अधिवेशनसमेत प्रभावित भइरहेको छ । मंगलबार (१५ पुस) प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच यसै विषयलाई लिएर भएको बैठक पनि टुङ्गोमा पुग्न सकेन ।

‘माओवादी’को भागमा रहेको सभामुख आफैँले पाउनुपर्ने मनसाय प्रचण्डमा रहेको पाइएको छ । राष्ट्रपति, प्रधानमन्त्री र सभामुखजस्ता अति महत्वपूर्ण पदीय जिम्मेवारी ‘एमाले’लाई र ‘एमाले’मा पनि केपी ओलीलाई सुम्पिनु जोखिमपूर्ण हुने बुझाइ प्रचण्डमा रहेको बताइन्छ । सभामुख र राष्ट्रपति आफूअनुकूल हुँदा प्रधानमन्त्रीले चाहेबमोजिमको परिस्थिति निर्माण गर्न सक्ने हुनाले पनि प्रचण्ड सचेत ढङ्गले नेम्वाङलाई सभामुख बन्न नदिन लागिपर्नुभएको छ ।

अग्नि सापकोटा, पम्फा भुसाल र देव गुरुङमध्ये एकलाई सभामुख बनाउन प्रचण्ड चाहनुहुन्छ । तीनमध्ये प्रचण्डको मुख्य रोजाइ सापकोटा नै भएको बुझिन्छ, तर सापकोटा र गुरुङप्रति ‘एमाले कित्ता’ सकारात्मक नभएकोले उहाँहरू दुईमध्ये दुवैले सभामुखको जिम्मेवारी पाउने सम्भावना शून्य बराबर छ । ‘केही लिएर मात्र केही दिने’ मानसिकता र योजनामा रहनुभएका प्रचण्डले केपीबाट केही ठूलै उपलब्धि हात नपारीकन नेम्वाङलाई सभामुख स्वीकार गर्ने सम्भावना देखिँदैन । कदाचित केपीले अरू केही दिनुभन्दा सभामुख पद नै माओवादीलाई छोडिदिनु उपयुक्त ठान्नुभयो भने त्यस्तो अवस्थामा पम्फा भुसाललाई उक्त पद मिल्ने ज्यादा सम्भावना छ । तथापि अहिलेसम्म प्रधानमन्त्री ओली कुनै हालतमा पनि सभामुख पद ‘माओवादी’लाई नदिन दृढ हुनुहुन्छ र सुवास नेम्वाङलाई नै सभामुख बनाउने कुरा आफ्ना निकटवर्तीसमक्ष प्रकट गरिसक्नुभएको छ ।

भनिन्छ, केपी शर्मा ओली पछिल्लो समय प्रचण्ड र माओवादी कित्ताप्रति केही उदार एवम् सकारात्मक बन्नुभएको छ । तर, प्रचण्डले केपीको यो सकारात्मकताको पनि नकारात्मक अर्थ लगाउने गर्नुभएको छ । केपीको लचकता स्थायी रूपले नभई दोस्रो मिर्गौला प्रत्यारोपणसम्मका लागि मात्र भएको बुझाइ प्रचण्डको छ । त्यसैले केपीबाट जे हात लगाउनुपर्ने हो त्यो मिर्गौला प्रत्यारोपणभन्दा पहिले नै लगाइसक्नुपर्छ भन्ने बुझाइ प्रचण्डको भएकोले ‘सभामुख’ चयनको विषय सहजै टुङ्गिने स्थिति छैन ।

चर्को बार्गेनिङ गरेर केही नलिईकन प्रचण्डले सभामुख छोड्ने अवस्था नरहेकोले यसपटक प्रधानमन्त्री केपी शर्माले के गुमाउनुपर्ने हो, प्रतीक्षाको विषय बनको छ ।

नेपाल कम्युनिस्ट पार्टीको पैंतालीस सदस्यीय स्थायी कमिटीमा बहुमत नभए पनि प्रचण्ड सबभन्दा बलियो मानिन्छन् । समितिमा प्रधानमन्त्री केपीसमर्थक (वामदेवलाई समेत गणना गर्दा) १३ जना छन् भने माधव नेपालको पक्षमा पनि १३ जना नै रहेका छन् । तर, प्रचण्डको पक्षमा भने १९ सदस्य भएको विश्वास गरिन्छ । केपी, माधव र प्रचण्डमध्ये दुई जतातिर हुन्छन् त्यसैको पल्ला भारी हुने स्थिति भए पनि अहिलेसम्म तीनजनामा कसैले कसैलाई पनि विश्वास गर्न सकिने स्थिति छैन । यही तरल अवस्थाको फाइदा उठाउँदै आगामी वर्ष (२०७७) सालमा गर्ने भनिएको महाधिवेशन आफ्नोअनुकूल तुल्याउन प्रचण्ड अहिले नै सक्रिय भइसकेका छन् ।