उपेन्द्र यादवले दिए ‘अन्तिम आन्दोलन’को धम्की

उपेन्द्र यादवले दिए ‘अन्तिम आन्दोलन’को धम्की


हालै सरकारबाट बाहिरिएका समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने बताएका छन् ।

युवा सङ्घ महोत्तरीको जिल्ला सम्मेलनलाई आज (१५ पुस) जलेश्वरमा सम्बोधन गर्दै उनले वर्तमान सरकारले आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएको तथा मधेश र मधेशीको हकअधिकार दिन आनाकानी गरेको हुँदा आफ्नो हक र अधिकार प्राप्तिका लागि मधेशमा पुनः ठूलो आन्दोलन गर्ने धम्की दिए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले संविधान संशोधन गरेर जबसम्म मधेश र मधेशीलाई बराबरीको हक दिँदैन, तबसम्म आफूहरु आन्दोलन गरिराख्ने र मधेशी जनताले आफूहरुलाई सधैँ सहयोग गरिरहने बताए । आफ्नो पार्टीले अब सडक र सदन दुवै ठाउँबाट सङ्घर्षका कार्यक्रमहरु अगाडि बढाउने तथा पूर्ण रुपमा अधिकार प्राप्त नहुन्जेलसम्म सङ्घर्षका कार्यक्रम निरन्तर चलिरहने उनको उदघोष थियो ।

अध्यक्ष यादवले वर्तमान सरकार आफूहरुलाई वाचा गरेर पनि मधेश र मधेशीलाई हकअधिकार दिनबाट खुट्टा पछाडि तानेको तथा संविधान संशोधन गर्न नमानेको भन्दै सोही कारण आफूहरुले सरकार छाडेको तर्क गरे । अब मधेशी जनताले ठूलोभन्दा ठूलो अन्तिम आन्दोलन गर्न पुनः जरुरी भएको भन्दै आन्दोलनका लागि सबैलाई तयार रहन उनले आग्रह गरे ।