प्रतिपक्षीय अवरोधका कारण प्रदेशसभाको बैठक स्थगित

प्रतिपक्षीय अवरोधका कारण प्रदेशसभाको बैठक स्थगित


■ हेमशंकर सिंह, जनकपुरधाम

झण्डै डेढ महिनापछि आज सोमबार बसेको प्रदेशसभाको बैठक भोली मंगलबार (१५ पुस) दिउँसो १ बजे सम्मका लागि स्थति भएको छ ।

गत आर्थिक वर्षमा प्रदेशसभा सदस्यहरुको क्षेत्र विकास कोषबाट सञ्चालित योजनाहरुको भुक्तानी प्रदेश सरकारले नदिएपछि प्रतिपक्षी दलहरुको अवरोधका कारण सुचना टाँस गरेर आजको बैठक स्थगित गरिएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा, नेपाली काग्रेस र सतारुढ राजपाका सासंद उपेन्द्र महतोले आआफनो ठाँउबाट उभिएर सदन अवरोध गरेपछि सभामुख सरोज यादवले आधा घण्टाका लागि स्थगित गरेका थिए ।

सदन सुचारु गराउन बसेको कार्यब्यवस्था परामर्श समितिको बैठकले रोकिएको भुक्तानीसहितका विषयमा भोलि दिउँसो १ बजे मुख्यमन्त्री लालबाबु राउतले सदनमा आएर जवाफ दिने सहमति भएको नेकपाका प्रमुख सचेतक सुन्दर विश्वकर्माले बताए ।

भोलिको बैठकमा मुख्यमन्त्रीबाट चित्तबुझदो जवाफ नआए पुनः सदन अवरुद्ध पार्ने जानका्ी समेत उनले दिए ।

बैठकको प्रारम्भमा विशेष समयमा बोल्दै प्रतिपक्षी दलका सांसदहरुले रकम भुक्तानीका लागि सभामुखकै संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले प्रतिवेदन बुझाउँदासमेत सरकारले भुक्तानीका लागि कुनै प्रक्रिया अगाडि नबढाएको आरोप लगाए ।

विशेष समयमा बोल्दै नेकपाका सत्रुघन महतोले वर्तमान सरकारको रवैयाका कारण प्रदेश २ सरकार भ्रष्टाचारमा डुबेको चौतर्फी सन्देश गएको आरोप लगाए ।

समयमा सरकारले बजेट दिँदैन र एउटै शीर्षकमा दुई दुई मन्त्रालयबाट मन्त्रीहरुको क्षेत्रमा बजेट गएको छ त्यसको पनि छानविन हुनुपर्छ, उनले भने ।

नेकपाकै रामचन्द्र मण्डलले संसद सचिवालयलाई नटेर्ने सचिवउपर कारवाही गर्ने चेतावनी दिए ।

राजपाका उपेन्द्र महतोले प्रतिपक्षी सांसदहरुले उठाएको माग जायज रहेको भन्दै प्रदेश सरकार अज्ञानी, अनुभवहीन र बदनियतपूर्वक भुक्तानी रोकेको आरोप लगाए । पीडित उपभोक्ता समिति गठन गरेर आफु स्वंय सहभागी भई मन्त्रीहरुलाई कालो झण्डा देखाएर विरोध प्रदर्शन गर्ने चेतावनी समेत उनले दिए ।

नेकपाका सांसद गोविन्द न्यौपानेले सप्तरीको पश्चिमी भेग मधुपटी, पसेरा, मझाउ लगायतका जनता हात्ती आतंकबाट पीडित भइरहेको भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका शिवचन्द्र मिश्र समेतका सांसदहरुले रोकिएको भुक्तानी अबिलम्ब दिलाउन सरकारसँग माग गरे ।

ज्ञातव्य छ, गत कार्तिक २९ गतेपछि प्रदेससभाको बैठक बस्न सकेको थिएन ।