बालविकासको क्षेत्रमा लगानी बढाउन प्रदेशसभा सदस्यहरुको जोड

बालविकासको क्षेत्रमा लगानी बढाउन प्रदेशसभा सदस्यहरुको जोड


■ हेमशंकर सिंह, जनकपुरधाम

सवल र सकक्षम जनशक्ति उत्पादन गर्न बालविकासको क्षेत्रमा लगानी बढाउनुपर्नेमा प्रदेश २ का प्रदेशसभा सदस्यहरुले जोड दिएका छन् ।

प्रदेश २ को प्रत्येक क्षेत्रमा एक नमुना बालविकास विद्यालय बनाउने प्रतिबद्धता समेत उनीहरुले ब्यक्त गरेका छन् ।

हिजो शनिबार जनकपुरधाममा प्रारम्भिक बालविकासका लागि संङ्घीय तथा प्रदेशसभा सदस्यहरुको सहकार्य समन्वय समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी सांसदहरुले आफ्नो संसदीय विकास कोषबाट एक क्षेत्र एक नमुना बालविकास केन्द्र बनाउने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का समाजिक विकासमन्त्री नवलकिसोर साहले सप्तरीका एक बालविकास केन्द्रलाई नमुना बनाउन २० लाख अनुदानको रकम दिने घोषणासमेत गरेका छन् । सुरुङ्गा नगरपालिका–५ बनिगमास्थित राष्ट्रिय प्राथमिक विद्यालयमा थप सुधार एवं नमुना बालविकास विद्यालय निर्माणका लागि २० लाख रकम दिइने मन्त्री साहले घोषणा गरेका हुन् ।

विद्यालय क्षेत्रमा प्रदेश सरकारले लगानी गरेको अधिकांश बजेट फ्रिज हुने गरेको उल्लेख गर्दै अब दिइने बजेट सदुपयोग गर्न सांसदहरुलाई मन्त्री साहले सझाए । महिलाप्रति लक्षित गर्दै बालबालिकाको पहिलो पाठशाला घर रहेको र पहिलो गुरु महिला रहेको भन्दै पोषणयुक्त खाना खुवाएर शिक्षामा जोड दिन उनले आग्रह गरे ।

‘बालबालिकाको सम्पूर्ण विकासमा महिलाको महत्तवपूर्ण भुमिका हुन्छ,’ उनले भने, ‘त्यसकारण मधेशको महिला अब सुक्ष्म बन्नु पर्छ, चेतनाको वृद्धि गनुपर्छ ।’ लामो समउदेखि घम्टोमा रमाएकी तराई–मधेशकी महिला अब सामाजिक कुरितिविरुद्ध अवाज उठाउनु पर्ने भन्दै बालविवाह रोक्न उनीहरुले सक्रिय भूमिका निर्वाह गरे मात्र अन्तय हुने उनले औंल्याए ।

छोराछोरीबीच समाजका व्यक्तिहरुले गरेको विभेदबारे चर्चा गर्दै महिलाले नै महिलालाई हिंसा गर्ने गरेको उनले तर्क गरे । छोरालाई नीजि विद्यालय र छोरीलाई सरकारी विद्यालयमा पढाउने गरेको उदाहरण देखाउँदै अब त्यसलाई निर्मुल पार्न महिला सांसदहरुले पनि भूमिका खेल्नुपर्ने मन्त्री साहले बताए ।

प्रारम्भिक बालविकासका लागि संङ्घीय तथा प्रदेशसभा सदस्यहरुको सहकार्य समन्वय समूहका संयोजक गोविन्द न्यौपानेले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणका लागि समुह क्रियाशील रहेको भन्दै जिल्लास्तरमा स्थानीय तहका प्रमुख, उपप्रमुख र सांसदहरुबीच बालविकासको विषयमा छलफल चलाउने जानकारी दिए ।

सोही कार्यक्रममा सप्तरीको सुरुङ्गा र खड्ग नगरपालिकामा सञ्चालित तीन वर्ष उमेरका बालबालिका लक्षित अभिभावक परम्भिक उत्प्रेरणा, पोषण र स्वास्थ्य, बालसंरक्षण एकीकृत कार्यक्रमको अवलोकन तथा अनुगमनको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

कर्यक्रममा प्रतिनिधिसभा सदस्य मिनाकक्षी झा, प्रदेशसभामा नेकपाका प्रमुख सचेतक सुन्दर विश्वकर्मा, नेपाली कांग्रेसका प्रमुख सचेतक रामसरोज यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र यादव, राजपाका प्रमुख सचेतक परमेश्वर साह सेभ द चिल्ड्रेनकी नरमाया थापालगायतले प्रारम्भिक बालविकासमा लगानी बढाउनुपर्नेमा जोड दिए ।