विरोधका कारण चार महिनादेखि समितिमा अड्किएको विधेयक बहुमतले पारित

विरोधका कारण चार महिनादेखि समितिमा अड्किएको विधेयक बहुमतले पारित


सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले पारित गरेको छ । समितिको आइतबार (१२ पुस) बसेको बैठकको बहुमतले विधेयक पारित गरेको हो । विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको, फरक मत राख्ने सांसदहरुको आठ बुँदा पनि संशोधनमा समावेश गरी पारित भएको सभापति कल्याणीकुमारी खड्काले बैठकमा जानकारी दिइन् ।

फरक मत राख्ने सांसदहरुको आठ वटा बुँदा सरकारले स्वीकार गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पनि बताए । लोकतान्त्रिक मूल्य पद्दतिविरुद्ध विधेयक बनाएर पेश गर्न संविधानले नै अनुमति नदिने भएकाले त्यसो नगरिएको उनको जिकिर थियो ।

“सत्तापक्षको मात्र कानून नभई यो देशकै कानून हो, विधेयकमा नागरिक अधिकार कुण्ठित गर्ने विषय छन् भन्नु स्यालहुइँया मात्र हो, सरकारको आलोचना गर्न पाइन्छ तर जथाभावी गर्न पाइँदैन”, मन्त्री बाँस्कोटाको तर्क छ । फरक मत राख्ने सांसदहरुले पनि भित्र–भित्र विधेयक पारित भए हुन्छ भन्ने मान्यता राखेका दाबी गदैराजनीतिक कारणले मात्रै विरोध गरेको हुनसक्ने उनले बताए ।

विधेयक पारित गर्ने सन्दर्भमा सांसदहरु सत्ता र प्रतिपक्षमा विभाजित भएका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले ३६ बुँदाको संशोधनसहितको विधेयक पारित गर्नुपर्ने मत राखेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले विधेयकको दफा ८८ र ९१ देखि ९४ सम्मका बुँदा भने नागरिक स्वतन्त्रता र संविधानको मर्मविपरीत भएकाले हटाउन माग गरेका थिए ।

विधेयकका बारेमा दफावार छलफल गर्न गठित उपसमितिमा लिखित ‘नोट अफ डिसेन्ट’ पेश गरेका सांसद बहादुरसिंह लामाले नागरिकले बोल्ने अधिकार कुण्ठित गर्ने प्रावधान विधेयकमा राखिएकाले स्वीकार गर्न नसकिने बताए । संविधानको मर्मविपरीत आएको यो विधेयक प्रजातान्त्रिक मूल्य मान्यताविपरीत रहेको आरोपसमेत उनले लगाए । फरक मतलाई संसद्को अभिलेखमा रहने गरी अघि बढाउन सांसद लामाले माग गरे भने कांग्रेसकै सांसद रामबहादुर विष्टले दफा ८८ र ९१ देखि ९४ सम्मका प्रावधान हटाएर समितिबाट सर्वसम्मत रुपमा पारित गर्ने व्यवस्था गर्न माग तेर्स्याए ।

बैठकमा सांसद रङ्गमती शाहीले लोकतान्त्रिक मूल्य मान्यतामा सरकारविरुद्ध बोल्न नपाइने गरी विधेयक मस्यौदा गरी पारित गरिन लागेको भन्दै आपत्ति जनाएकी थिइन् । तर सत्तापक्षीय सांसद टोपबहादुर रायमाझीले लोकतन्त्र भनेको छाडातन्त्र नभएकाले सूचना प्रविधिलाई व्यवस्थित गर्न विधेयक आएको तर्क गरे । समाचार र विचारलाई भने सम्मान गरिनुपर्ने उनभनाइ थियो । सांसद गणेशकुमार पहाडीले सूचना प्रविधिको विषयलाई व्यवस्थित गर्ने अर्को कानून नभएकाले धेरै मानिस पीडित भएको उल्लेख गर्दै समितिमा विधेयक पारित नगरी अनिर्णयको बन्दी बनाइनु नहुने धारणा राखे ।

विधेयकका बारेमा दफावार छलफल गर्न गठित उपसमिति संयोजकसमेत रहेकी सांसद विनाकुमारी श्रेष्ठले बुँदा बुँदामा छलफल गरी फरक मतसहित प्रतिवेदन समितिमा पेश गरिए बताइन् । सांसदहरु यज्ञराज सुनुवार, दामोदर भण्डारी, केदार सिग्देल, आशाकुमारी विक, लीलानाथ श्रेष्ठले विधेयक पारित हुनुपर्नेमा जोड दिएका थिए । राससका अनुसार विगत चार महिनादेखि समितिमै अड्किएको विधेयक पारित भएसँगै अब सदनको बैठकमा पेश गर्ने प्रक्रियामा अघि बढ्ने भएको छ ।

pict:rss