दादासाहेब फाल्के पुरस्कार थाप्दै जब अमिताभले यस्तो प्रश्न गरे…

दादासाहेब फाल्के पुरस्कार थाप्दै जब अमिताभले यस्तो प्रश्न गरे…


बलिउड अभिनेता अमिताभ बच्चनले आज (२९ डिसेम्बर) भारतको राष्ट्रपति भवनमा आयोजित समारोहमा दादासाहेब फाल्के पुरस्कार ग्रहण गरे । यसै वर्ष गत सेप्टेम्बरमा उनलाई भारतीय फिल्म जगतको यो सबभन्दा प्रतिष्ठित पुरस्कार प्रदान गरिने घोषणा गरिएको थियो ।

खासमा गत साता आइतबार नै राष्ट्रिय फिल्म पुरस्कार वितरण समारोह आयोजना गरिएको थियो, तर उक्त समारोहमा उपस्थित भएर सम्मान थाप्न बच्चनलाई स्वास्थ्यले साथ दिएन । तसर्थ, महानायक अमिताभ बच्चनकै लागि आइतबार पुनः अलग्गै समारोह आयोजना गरिएको थियो, जसमा उपस्थित भई राष्ट्रपति रामनाथ कोविन्दको हातबाट उनले दादासाहेब फाल्के पुरस्कार ग्रहण गरे ।

आफूलाई सम्मान प्रदान गरेकोमा राष्ट्रपति रामनाथ कोविन्दलाई धन्यवाद दिएपछि आफ्नो सम्बोधनमा उनले फिल्म उद्योग र भारतीय जनताका साथै आफ्ना तमाम दर्शकलाई पनि धन्यवाद दिए । तर, आफ्नै शैलीमा मुसुक्क मुस्काउँदै उनले एउटा प्रश्न तेर्स्याए– ‘मलाई यति उच्च पुरस्कारबाट सम्मानित गर्नुको तात्पर्य कतै यो त होइन कि म अब काम छोडेर घरै बसुँ ?’ सभाहलमा उपस्थित सबै गलल्ल हाँसे ।

उनले अगाडि भने– ‘भगवानको कृपा छ, मातापिताको आशीर्वाद ममाथि छ, फिल्म उद्योगका निर्माता–निर्देशक एवम् सहकर्मी कलाकारहरूको पनि साथ पाएको छु, र सबभन्दा महत्वपूर्ण त तमाम जनताको स्नेह र निष्ठापूर्ण प्रोत्साहन रहेको छ, जसले गर्दा यतिबेला म तपाईंहरूसमक्ष खडा छु ।’

‘दादा साहब फाल्के पुरस्कार आजभन्दा ५० वर्षपहिले स्थापना भएको थियो र संयोगवश मैले पनि फिल्म उद्योगमा त्यति नै वर्ष का मगर्ने सौभाग्य पाइसकेको छु । यसको लागि म आभारी छु । म यस पुरस्कारलाई अत्यन्त विनम्रतापूर्वक स्वीकार गर्दछु, फेरि पनि कृतज्ञता व्यक्त गर्दछु र नमस्कार गर्दछु ।’

‘यस मञ्चबाट उत्रनुअघि थप केही भन्न चाहन्छु । जब यस पुरस्कारको घोषणा गरिएको थियो– मेरो मनमा सन्देह उठ्यो । धृष्टताको निम्ति क्षमा चाहन्छु र भन्छु कि कतै तिमीले धेरै काम गरिसक्यौ अब घरमै बस भन्न खोजेको त होइन ?! किनकि, महिला एवम् सज्जन वृन्द ! काम अझै बाँकी छ जसलाई मैले पूरा गर्नैपर्छ । अगाडि यस्तो सम्भावना प्रशस्तै देखिरहेको छु जहाँ मलाई काम गर्ने पर्याप्त मौका प्राप्त हुनेछ ।..’

अमिताभको यो अभिव्यक्तिप्रति सभामा उपस्थित सबैले मुस्कानसहित ताली दिएर समर्थन गरे । कार्यक्रमकी उद्घोषिकाले मुखै फोरेर भनिदिइन्– ‘भारतका दर्शकले तपाईंलाई आराम गर्न दिने छैनन् ।’

बलिउडमा अमिताभ बच्चन ‘मेगा स्टार’ र ‘बिग बी’को रूपमा पनि प्रख्यात छन् । उनको पहिलो फिल्म सन् १९६९ मा प्रदर्शन भएको ‘सात हिंदुस्तानी’ थियो भने सन् १९७३ मा रिलिज भएको प्रकाश मेहरा निर्देशित ‘जंजीर’मार्फत् अमिताभले ‘बक्स अफिस’मा सफलताको ढोका उघारे । त्यसपछिको दुई दशक हिन्दी फिल्ममा उनको लगभग एकछत्र राज चल्यो । यही अवधिमा उनलाई ‘सुपरस्टार’ र ‘महानायक’ जस्ता उपाधि मिल्यो ।

सफलताको यस चरणमा अमिताभ बच्चनले प्रकाश मेहराका अलावा मनमोहन देसाई, यश चोपड़ा र ऋषिकेश मुखर्जी जस्ता फिल्म निर्माता/निर्देशकहरूसँग थुप्रै फिल्ममा काम गरे ।

ऋाफ्नो करिअरको दोस्रो चरणमा उनले नयाँ निर्देशकहरूसँग काम गरे । यस समयमा उनले ‘ब्ल्याक’ र ‘पा’ जस्ता प्रयोगधर्मी फिल्ममा अभिनय गरे । अमिताभ बच्चनले टिभी (सानो पर्दा)मा पनि सफलताको नयाँ इतिहास रचे । उनी सन् २००० देखि गेम शो ‘कौन बनेगा करोडपति’को होस्ट रहँदै आएका छन्, जो आम दर्शकमाझ अत्यन्त लोकप्रिय कार्यक्रम रहँदै आएको छ ।

अमिताभ बच्चनले भारतका चारवटा राष्ट्रिय फिल्म पुरस्कार र १५ पटक फिल्म फेयर पुरस्कारसहित धेरै पुरस्कारहरू प्राप्त गरिसकेका छन् । सन् २०१५ मा उनलाई भारत सरकारले पद्म विभुषणबाट सम्मानित गरेको थियो । ७६ वर्षीय अभिताभ फिल्म तथा टिभी कार्यक्रमहरूमा अझै उत्तिकै सक्रिय रहेका छन्, जो सबैका लागि प्रेरणादायी कार्य हो ।

(बीबीसीमा आधारित)