सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु

सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु


अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र बहस र विवाद बढिरहेको बेला सो पार्टीको सचिवालय बैठक शुरु भएको छ । उक्त मामलामा समेत विशेष छलफल गर्ने अभीष्टका साथ प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान सचिवालय बैठक प्रारम्भ भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा पनि विचार विमर्श भइरहेको छ ।

गत साता सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले एमसीसीबारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो भने सभामुखको उम्मेदवार चयन गर्ने विषय पनि यतिबेला अहम् महत्वको एजेण्डा बन्न पुगेको छ ।