कांग्रेसमा गुटगत झगडा चर्कियो, पौडेलले दिए देउवालाई यस्तो चेतावनी

कांग्रेसमा गुटगत झगडा चर्कियो, पौडेलले दिए देउवालाई यस्तो चेतावनी


नेपाली काङ्ग्रेसभित्र असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता रामचन्द्र पौडेलले आफूहरू अब नेतृत्वको ज्यादतिको पर्दाफास गर्न पार्टीको तल्ला तहका कार्यकर्तासम्म पुग्ने उदघोष गरेका छन् । काङ्ग्रेसमा गुटको राजनीति मौलाएको टीका–टिप्पणी भइरहेकै बेला संस्थापन पक्षलाई उनले यस्तो चेतावनी दिएका हुन् ।

पार्टी महामन्त्री डा शशांक कोइरालाको निवास महाराजगञ्जमा शनिबार भएको पौडेल समूहको विशेष बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेसले गर्ने हरेका निर्णय निष्पक्षता, पारदर्शीता र न्यायको सिद्धान्तका आधारमा हुनुपर्ने धारणा राखे । पार्टीका वरिष्ठ नेता पौडेलले सबैभन्दा पहिला शुक्रबारको केन्द्रीय कार्यसमितिबाट भएका निर्णयहरू फिर्ता लिनुपर्ने अन्यथा तल्लो तहका नेताहरूसम्मै आफूहरू जाने बताए ।

केन्द्रीय कार्यसमितिबाट शुक्रबार बहुमतका आधारमा गरिएको निर्णय पार्टीको हितविपरीत भएको दाबी गर्दै सो सच्याउनु पर्ने माग उनले पटक–पटक दोहो¥याए । निर्णय सच्चिएन भने के गर्नुहुन्छ भन्ने जिज्ञासामा उनको जवाफ थियो– ‘तल्लो तहका कार्यकर्ताहरूको सम्पर्कमा छौँ । सबै भ्रातृ संघका नेता तथा कार्यकर्ताहरूसँग सल्लाह गर्नेछौँ । जिल्ला सभापतिहरूसँग कुरा गर्छौं । उहाँहरूले जे सल्लाह दिनुहुन्छ त्यही हुन्छ ।’

महासमिति बैठकपछि संशोधन गरिएको पार्टी विधानलाई नजरअन्दाज गर्ने काम नेतृत्व तहबाटै भएको आरोप लगाउँदै पौडेलले भने– ‘एक हजार दुई सयभन्दा बढी महासमिति सदस्यहरूको बैठकपछि पार्टीको विधान संशोधन भएको एक वर्ष पनि पुगेको छैन, महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने नाममा आफूखुशी विधानका दफा निलम्बन गरिएको छ । पार्टी विधानका दफा निलम्बन गर्ने कुरा बहुमतबाट हुन सक्दैन । यसमा सहमति खोजिनुपर्थ्यो, तर त्यसो गरिएन ।’

‘०७७ सालको पल्लो छेउमा लगेर महाधिवेशनको मिति राखिएको छ । त्यो समयमा हुन सकेन भने पार्टीको हैसियत के हुन्छ ? त्यो समयमा महाधिवेशन हुन सकेन भने पार्टी संकटमा पर्छ । यस्तो संवेदनशील कुरालाई ध्यान नदिइनु विडम्बनापूर्ण छ’– पौडेलले आक्रोश व्यक्त गरे ।

१४औँ महाधिवेशनको मिति तोक्ने बेला सभापति देउवाले आफूहरूसँग परामर्श नै नगरिकन निर्णय गरेकोमा पौडेलको दुखेसो थियो ।

सोही अवसरमा महामन्त्री डा. कोइरालाले पार्टी्भित्रको एकतामा जोड दिँदै बहुमतबाट गरिएको निर्णयले पार्टीलाई कमजोर बनाउने तर्क गरे । सहमतिका लागि छलफल भइरहेकै बेला एक्कासी निर्णय भएको भन्दै कोइरालाले पनि असन्तुष्टि व्यक्त गरे । नेतृत्वले एकताका लागि बढी पहल गर्नुपर्ने तर्क उनले गरे ।

यस्तै, नेता प्रकाशमान सिंहले ९ बुँदे एजेण्डा राखेर वार्ता भइरहेका बेला एकलौटी रुपमा निर्णय गरेको भन्दै सभापति देउवालाई निर्णय सच्याउन आग्रह गरे । उनले पनि पार्टीलाई एकलौटी रुपमा चलाउन खोजिएको भन्दै आक्रोश पोखे ।

पौडेल समूहको बैठक एवम् पत्रकार सम्मेलनमा तेस्रो समूहका नेता कृष्णप्रसाद सिटौला उपस्थित नरहे पनि सिटौला समूहका नेताहरू बैठकमा सहभागी थिए ।

ज्ञातव्य छ, कांग्रेस केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि एक वर्षका लागि थप गर्दै पार्टीको १४औँ केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । कांग्रेसको वर्तमान केन्द्रीय समितिको समयावधि आगामी फागुनमा सकिँदैछ ।