नेपालमा किन मनाइयो सलमान खानको जन्मदिन ?

नेपालमा किन मनाइयो सलमान खानको जन्मदिन ?


काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युमन क्लोथिङ नेपालले बलिउड सुपर स्टार सलमान खानको जन्मोत्सव मनाएको छ । बिइङ ह्युमन क्लोथिङ सञ्चालन गर्दै आएको बिइङ ह्युमन फाउण्डेसनका संस्थापक समेत रहेका सलमान खानको ५४औं जन्मदिनको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।

विभिन्न देशमा रहेका बिइङं ह्युमन क्लोथिङको ‘शो–रुम’हरूमा सलमान खानको जन्मोत्सव भव्यताका साथ मनाइएको बिइङ ह्युमन क्लोथिङको नेपालको एक मात्र आधिकारिक बिक्रेता वस्त्र इन्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुदिपचन्द्र बख्रेलले जानकारी दिए ।

‘सलमान खान फिल्ममा मात्र नभई वास्तविक जीवनमा पनि हिरो बन्न सफल छन्’, प्रमुख कार्यकारी अधिकृत बख्रेलले भने, ‘बलिउड सुपरस्टारभन्दा पनि सामाजिक गतिविधिमा सक्रिय बिइङ ह्युमन फाउण्डेसनका संस्थापकको रुपमा सलमानको जन्मदिन मनाएका हौँ ।’

बिइङ ह्युमन क्लोथिङ नेपालले पनि आगामी दिनमा विभिन्न किसिमको च्यारिटिहरुको आयोजना गर्ने बख्रेलले बताए । उनले भने, ‘अब हामी बिइङ ह्युमनको शो–रुममै पनि शारिरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुलाई पनि रोजगारी दिनेछौँ ।’

केही समय आन्तरिक समस्याका कारण बन्द रहेको बिइङ ह्युमन नेपालको शो–रुम शुक्रबारदेखि औपचारिक रुपमा पुनः सञ्चालनमा आएको छ । ‘विभिन्न आरोह–अवरोहबीच आफूहरू यहाँसम्म आइपुगेको भन्दै वस्त्र इन्कका सञ्चालक राजु थापा क्षेत्रीले नयाँ व्यवस्थापन र नयाँ उर्जाका साथ फर्किएको बताए ।