पत्रकार खाशोज्जी हत्याकाण्डमा साउदी अदालतद्वारा पाँच जनालाई मृत्युदण्ड

पत्रकार खाशोज्जी हत्याकाण्डमा साउदी अदालतद्वारा पाँच जनालाई मृत्युदण्ड


साउदी पत्रकार जमाल खाशोज्जीको हत्यामा संलग्न रहेको अभियोग लगाइएका पाँच व्यक्तिलाई हत्याकाण्डको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको साउदी अरबका सरकारी अभियोजनकर्ताहरूले बताएका छन् ।

तर, उक्त हत्याको बारेमा अदालतले छानबिन गरेका दुई शीर्ष व्यक्तित्वलाई निर्दोष ठहराएको छ । अभियोजनकर्ताले नाम नखुलाइएका ११ जनामाथि हत्यामा संलग्न भएको भन्दै मुद्दा दायर गरेका थिए । साउदीका उप–महाधिवक्ता शलान अलशलानले सोमबार पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति उद्धृत गर्दै एएफपीले जनाएअनुसार खशोज्जीको हत्या ‘पूर्वयोजनाअनुसार नभएको’ ठहर गरिएको छ ।

सुनुवाईमा टर्की अधिकारीहरूले साउदी अरबको सरकारको आलोचक ५९ वर्षीय खसोज्जीलाई एक समूहले टर्कीस्थित साउदी अरबको राजदूताबासमा प्रवेश गरी नियन्त्रणमा लिएको र उनको शरिरलाई टुक्रा–टुक्रा पारी हत्या गरेको बयान दिएका बताइएको छ । गुप्तचरका उपप्रमुख अहमद अल–असरीले खाशोग्गीको हत्याको रेखदेख गरेको र शाही अदालतका सञ्चारमाध्यम जजार सौद अल–कहतानीले उनलाई सल्लाह दिएको अभियोगसहित मुद्दा दायर भएको साउदी वकीलहरूले बताएका थिए ।

यद्यपि अनुसन्धानका क्रममा काहतानीको सम्लग्नता रहेको देखिने ‘अपर्याप्त प्रमाणका कारण’ अभियोग लगाइएको थिएन र असिरीलाई अनुसन्धान गरी अभियोग लगाइएको थियो तर अन्ततः उही आधारमा निर्दोष मुक्त गरिएको अभियोजनकर्ताहरूले विज्ञप्तिमा भनेका छन् ।

अभियोजकको भनाइअनुसार ११ जना नाम उल्लेख नभएका व्यक्तिमध्ये पाँच जनालाई मृत्युदण्ड, तीन जनालाई कुल २४ बर्ष जेल सजाय र अन्यलाई निर्दोष घोषणा गरिएको छ । रियाद अदालतले उक्त सुनुवाइमा अन्तर्राष्ट्रिय समुदायका साथै खाशोज्जीको परिवारका प्रतिनिधिहरु उपस्थित नौ वटा सुनुवाईहरु भएको बताएको छ । खशोज्जीको हत्याले संसारभर चर्चा पाएको थियो ।

निर्णयप्रति आफ्नो धारणा राख्दै संयुक्त राष्ट्र संघ तथा विभिन्न मानवअधिकार समूहहरूले यस हत्याको स्वतन्त्र अनुसन्धान गर्न आग्रह गरेका छन् । वाशिङ्टन पोष्टका नियमित स्तम्भकार साउदी अरबका प्रसिद्ध पत्रकार खसोज्जीको वर्ष अक्टोबरमा हत्या भएको थियो । सुरूमा रियादले यसलाई खराब समूहद्वारा घटाइएको घटना भनेको थियो ।

यसका कारण अमेरिका लगायतका विश्व समुदायले साउदी अरबले पत्रकार खशोज्जीको हत्या प्रकरणको स्वच्छ छानविन नगरेमा साउदी अरबको सम्बन्धमा कुटनीतिक संकट आउने बताउँदै निरन्तर दिएको दवाबपछि छानविनका लागि साउदी अरब तयार बनेको थियो । साउदी अरबले खशोज्जीको हत्या प्रकरणका दोषीलाई स्वच्छ तथा स्वतन्त्र छानविन गर्न लामो समय गरेको आनाकानीले राजकूमार मोहम्मद बिन सलमानको प्रतिष्ठामा निकै आँच आएको थियो ।