सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक : राजनीतिक प्रतिवेदनमाथि छलफलको क्रम सकियो

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक : राजनीतिक प्रतिवेदनमाथि छलफलको क्रम सकियो


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (५ पुस) छैटौं दिन पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहालको अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा सम्पन्न भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि महासचिव विष्णुप्रसाद पौडेलले आफ्नो धारणा राखेपछि छलफलको क्रम आजबाट पूरा भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकमा सबै सदस्यले राखेका आ–आफ्ना धारणाको सम्बन्धमा स्पष्ट पार्न शनिबार नै पार्टी सचिवालयको अलग्गै बैठकसमेत बसेको थियो । तदनुरुप बैठकमा पार्टी अध्यक्ष दाहालले विभिन्न विषयमा प्रष्ट्याउने र परिमार्जन गर्ने विषय राखेका थिए । यसैगरी विधान संशोधन प्रस्तावका सम्बन्धमा उठेका जिज्ञासाहरुका बारेमा महासचिव विष्णुप्रसाद पौडेलले प्रष्ट्याएका थिए ।

प्रतिउत्तर सम्बोधनका क्रममा अध्यक्ष दाहालले स्थायी कमिटीको बैठकमा व्यक्त विचारहरुले पार्टीलाई सुदृढीकरण गर्न, एकतालाई तीव्रता प्रदान गर्न, तीनै तहको सरकारलाई प्रभावकारी बनाउन र देशलाई सही दिशामा अघि बढाउन मद्दत पुगेको विचार व्यक्त गरेका प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष र महासचिवको प्रतिउत्तर सम्बोधनपछि पनि सदस्यहरुले विभिन्न विषयमा पुरक जिज्ञासाहरु राखेका र तिनलाई थप प्रष्ट्याउने कार्य भएको बताइएको छ ।

नेकपाको स्थायी समितिको अर्को बैठक पुस ६ गते बिहान ११ बजे धुम्बाराहीमा बस्नेछ भने प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई निष्कर्षका रुपमा पारित गर्ने काम भोलिको बैठकबाट गरिने जानकारी दिइएको छ ।

pict:rss