उपसभामुखबाट अध्यक्षता गर्दै अधिवेशन प्रारम्भ

उपसभामुखबाट अध्यक्षता गर्दै अधिवेशन प्रारम्भ


सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौँ अधिवेशन नयाँ बानेश्वरस्थित संसद् भवनमा आजदेखि शुरु भएको छ । प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सांसदलाई स्वागत गरी हिउँदे अधिवेशन प्रारम्भ भएको घोषणा गर्नुभयो । अपराह्न ४ बजे तोकिएको बैठक ४ः१५ बजे प्रारम्भ भएको थियो ।

नेपालको संसदीय इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गरेको सम्भवतः यो पहिलो घटना हो । विधेयक अधिवेशनलाई यस पटक सभामुख चयन गर्नेुपर्ने दायित्वसमेत थपिएको छ । सङ्घीय संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि हाल सभामुख पद खाली छ ।

सभामुख रिक्त हुनाले उपसभामुख तुम्बाहाङ्फेले अधिवेशन प्रारम्भ भएको घोषणा गर्नुभएको हो । यौन दुव्र्यवहार आरोप लागेपछि सभामुखबाट राजीनामा दिनुभएका महरा अहिले अदालतको आदेशमा अनुसन्धान र पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । आजका दिनसम्म कसलाई सभामुख बनाउने भन्नेबारे सत्तारुढ दल नेकपाले निर्णय गरिसकेको छैन । सभामुख र उपसभामुख फरक राजनीतिक दल र फरक लिङ्गको हुनुुपर्ने संवैधानिक व्यवस्था छ ।

उक्त व्यवस्थानुसार उपसभामुखलाई नै सभामुख बनाउने वा उहाँलाई राजीनामा गराएर अर्काे सभामुख चुन्ने भन्ने प्रश्नको सम्बोधन हुन बाँकी नै छ । नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक र सङ्घीय निजामती सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राजनीतिक सहमतिपछि यस अधिवेशनले अन्तिम रुप दिनुपर्ने कार्यभार छ ।

बैठकको प्रारम्भमा उससभामुख तुम्बाहाङ्फेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को पाँचौँ अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनःगठनसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि योगदान पुऱ्याउने ज्ञात-अज्ञात शहीदप्रति एक मिनेट मौनधारण पनि गरिएको थियो । राष्ट्रपति भण्डारीले गत मङ्सिर २४ गते सङ्घीय संसद्को पाँचौँ अधिवेशन आजदेखि शुरु हुने गरी आह्वान गर्नुभएको थियो ।

rss