सभामुखमा प्रधानमन्त्री, राष्ट्रपति र प्रचण्डको प्रतिस्पर्धा !

सभामुखमा प्रधानमन्त्री, राष्ट्रपति र प्रचण्डको प्रतिस्पर्धा !


राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुस ४ का लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान भइसकेको छ । तर, प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद् सचिवालयकै महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेर जेलजीवन व्यतीत गर्न पुगेपछि करिब दुई महिनादेखि सभामुख पद रिक्त छ । संसद् प्रारम्भ भएपछि संसद्ले सर्वप्रथम आफ्नो सभामुख चयन गर्नुपर्ने मूल मुद्दा बनेको छ ।

राष्ट्रपतिले संसद् आह्वान गरेको मितिअगावै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी सभामुखको जिम्मेवारी कसलाई दिने भन्ने टुंगोमा पुग्ने कसरतमा छ । दुईतिहाइ बहुमतमा रहेको सत्तारुढ नेकपा सभामुख पद आफ्नो पोल्टाबाट उम्काउन चाहँदैन । तर, प्रतिनिधिसभामा सभामुख र उपसभामुख अलग पार्टी र भिन्न लिङ्गबाट हुनुपर्ने संवैधानिक व्यवस्था भएका कारण सभामुखको उम्मेदवार तयार गर्नुअघि उसले उपसभामुखबाट डा. शिवमाया तुम्बाहाम्फेलाई बिदाइ गर्नुुपर्ने हुन्छ । डा. तुम्बाहाम्फेलाई उपसभामुखमा यथावत् राखेर नेकपा सभामुख पद आफ्नो मुठ्ठीबाट उम्काउन चाहँदैन ।

पूर्वएमाले र पूर्वमाओवादीबीच वैधानिक रूपमा पार्टी एकीकरण हुनुअघि नै माओवादी पार्टीबाट कृष्णबहादुर महरा सभामुख चयन भएकाले पूर्वमाओवादी कित्ताबाटै सभामुख चयन गर्नुपर्ने अडानमा पूर्वमाओवादी खेमा छ । यसका लागि उसले भावी सभामुखका लागि भन्दै अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालको नाम अघि सारेको छ । यी नाममध्ये नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरुसमेत रहेका मोहन वैद्य किरणका सम्धी अग्नि सापकोटाको नाम एक नम्बरमा राख्दै सोही नाममा सर्वसम्मत हुनुपर्ने सो खेमाको अडान छ । तर, पछिल्लो माहोल हेर्दा यस्तो सम्भावना भने टाढिँदै गएको छ ।

सो खेमालाई पूर्वएमाले कित्ताको प्रश्न छ– अब एमाले र माओवादी भन्ने कहाँ छ ? पार्टी एकीकरणपछि नेकपा भइसकेपछि अब सर्वसम्मत उम्मेदवार समग्र नेकपाबाटै तय गरिनुपर्छ ।

उता वर्तमान उपसभामुखको आफ्नै अडान छ– अबको सभामुख आफैँ हुनुपर्छ भन्ने । उनको भनाइ छ– सभामुखले गरेको गल्तीको सजाय आफूलाई किन ? अनि कुन कोणबाट आफू सभामुख बन्न अयोग्य छु ? यसका लागि उनले विभिन्न सञ्चारमाध्यममार्फत भनाइ राख्दै आफ्नोतर्फबाट राजनीतिक लबिङ पनि तीव्र बनाएकी छिन् । तर, प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले उनलाई सभामुख बनाउन सजिलो नरहेको कुरा घुमाउरो रूपमा बताइसकेका छन् ।

भेटमा उनले तुम्बाहाम्फेलाई भनेका थिए– हामी त तयारै छौँ, तर यसका लागि नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई पनि भेटेर कुरा मिलाउनु । यसबाटै स्पष्ट हुन्छ– प्रधानमन्त्री केपी डा. तुम्बाहाम्फेलाई सभामुख बनाउन तयार छैनन् ।

तर, राष्ट्रपति भण्डारीको दर्बिलो साथ तुम्बाहाम्फेलाई रहेको बताइन्छ । पहिले पनि राष्ट्रपति भण्डारीकै जोडबलमा उनी उपसभामुख बनेको बताइन्छ । तर, यसको मतलब डा. तुम्बाहाम्फेमा सभामुख बन्ने योग्यता र क्षमतै छैन भनियो भने यो सरासर गलत रहेको ठानिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन र इच्छा भने नेकपाका संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङलाई नै सभामुख बनाउने भन्ने रहेको छ । उनले नेम्वाङलाई सभामुख बनाउँदा सरकार सञ्चालनमा पनि सहज हुने भन्दै नेम्वाङलाई सभामुखका लागि तयार रहन ‘ग्रिन सिग्नल’ दिइसकेका छन् । यसका लागि कुनै पनि मिडिया या सार्वजनिक कार्यक्रममा सभामुखबारे नबोल्न ओलीले नेम्वाङलाई सचेत गराइसकेका छन् ।

उता नेकपामा वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ सभामुख प्रकरणमा मौन छन् । उनी प्रधानमन्त्रीसँग लामो समयपछि सुध्रिन लागेको सम्बन्धलाई कसैको नाममा बार्गेनिङ गरेर बिगार्ने पक्षमा छैनन् न त वामदेव गौतम कसैका नाममा लबिङ गरेर नेकपामा फर्किन लागेको आफ्नो साख गुमाउन चाहन्छन् ।

यसरी नेकपाभित्र सभामुखको ‘म्युजिकल चियर’मा पात्रका रूपमा सापकोटा, तुम्बाहाम्फे र नेम्वाङ दगुरिरहेको देखिए पनि यथार्थमा माओवादीका दोस्रो वरीयताका अध्यक्ष प्रचण्ड, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको प्रतिस्पर्धा रहेको देखिन्छ ।

अन्ततः सभामुख पदको प्रतिस्पर्धामा समग्र नेकपाको पक्षबाट सर्वसम्मत व्यक्ति छनोट गर्नुपर्छ भन्दै पूर्वमाओवादी खेमालाई रिङआउट गरिसकिएको छ भने शिवमायालाई पनि नजानिँदो प्रकारले छेउ लगाइसकेको अवस्था छ । तर, सभामुखका लागि राष्ट्रपति र नेपाली जनताको पहिलो रोजाइ डा. तुम्बाहाम्फे नै भए पनि प्रधानमन्त्रीको इच्छा र चाहनाविपरीत कसैको जोड नचल्ने अवस्था सिर्जना भएकोले सुवासचन्द्र नेम्वाङ नै भावी सभामुख बन्ने करिब–करिब पक्काजस्तै देखिन्छ ।