रङ्गशालामा एकआसपमै किन भिडे नेकपा कार्यकर्ता ?

रङ्गशालामा एकआसपमै किन भिडे नेकपा कार्यकर्ता ?


■ श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषद परिसरमा खेलकुदका कर्मचारी र ‘साग’का ‘भोलेन्टियर’हरूबीच भीडन्त भएको छ । भीडन्तमा नेकपा कार्यकर्ता तथा अखिलका स्वयम्सेवकहरू निकै सङ्ख्यामा घाइते भएका छन् । त्यस्तै, भीडन्तमा घाइते भएका तीन जना नेता–कार्यकर्ताको मोर्डन अस्पतालमा उपचार भइरहेको बुझिएको छ ।

हालै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)लाई व्यवस्थित रुपमा सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषदले पूर्वएमालेका पाँच सय जना ‘कोरा’ कार्यकर्तालाई भोलेन्टियर नियुक्त गरेको थियो । राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले प्रत्यक्ष निर्देशनमा नियुक्त भएका ती कार्यकर्ताको व्यवस्थापन र परिचालनको जिम्मेवारी विनोद श्रेष्ठले पाएका थिए । श्रेष्ठ मदन भण्डारी एकेडेमीका अध्यक्ष हुन् ।

राखेपका सदस्यसचिव सिलवालले श्रेष्ठलाई भोलेन्टियर समितिको संयोजक बनाएपछि उनले सिलवालको निर्देशनको पालना गर्दै आफ्ना गुटका पाँच सय नेकपा कार्यकर्ता भोलेन्टियर बनाउन सफल भएका थिए । भोलेन्टियरको जागिर पाउनेमा नेकपाका कार्यकर्ता, छोराछोरी, सालासाली, श्रीमान–श्रीमती र केही ‘जयनेपाल कामरेड’का सदस्यहरू पनि थिए । उनीहरूलाई दैनिक १ हजार भत्ता र एकमुस्ट ५०० सञ्चार खर्चवापत दिइएको थियो ।

१३औं सागको खेलअवधिभर कुनै उल्लेखनिय कार्य नगरेका ती भोलेन्टियरलाई राखेपले आज (पुष २ गते) धन्यवादसहित विदाईको कार्यक्रम राखिएको थियो । भोलेन्टियरलाई विदाई गर्नुअघि राखेपले एउटा दिवा भोजको आयोजना गर्दै भोलेन्टियरहरुलाई मासुभात ख्वाएको थियो । मासुभात खाने कार्यक्रम सदस्यसचिव सिलवालले परिसरको हाताभित्रै मिलाएका थिए । भोलेन्टियरले पनि १३औँ सागको लागि लाखौँ नगद खर्चगरी खरिद गरेको नयाँ म्याटमा बसेर बडो आनन्दका साथ मासुभात खाएर खानाको जूठो सोही नयाँ म्याटमा छरप्रष्ट पारेर उठेका थिए ।

मासु भातको कार्यक्रमपछि वितरण गरिएको प्रमाणपत्रमा आफुलाई प्रदान गरेको प्रमाणपत्रमा पेनले नै (हस्तलिखित) नाम लेखेको भनी भोलेन्टियरहरुले विरोध गर्दै त्यसलाई सच्याउनुपर्ने र कम्प्युटर प्रिन्ट गर्नुपर्ने माग राखेका थिए । उक्त माग राख्दै समितिका सचिव प्रेम मल्लसहित सदस्यसचिव सिलवालको कार्यकक्षमा पुगेका थिए ।

त्यसपछि सचिवालयका कर्मचारीले भोलेन्टियरलाई दुव्र्यवहार गर्दै कुटपिट गरी बाहिर लगारेपछि दशरथ रंगशाला खेलकुद परिसर रणसंग्राममा परिणत भएको थियो । यसपछि दुवै पक्षका नेकपाका कार्यकर्ताबीच ‘महाभारत’ मच्चिएको थियो । सो क्रममा नेपाली कांग्रेसका घुसपैठियाहरूले पनि अवसरको राम्रै लाभ उठाएका थिए । यसरी खेलकुद परिसर युद्धस्थलमा परिणत हुँदा समेत संयोजक श्रेष्ठ भने निरीह बनेर टुलुटुलु हेरी बसेका थिए ।