ऐतिहासिक सफलतामा सुटिङका कारण ‘किरिकिरी’

ऐतिहासिक सफलतामा सुटिङका कारण ‘किरिकिरी’


■ श्रीविक्रम भण्डारी

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आयोजना सफलतापूर्वक सम्पन्न भएकोमा दुईमत छैन् । नेपाली खेलाडीले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्नु नै सफलताको प्रमाण हो । तर, अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजनामा आयोजक पक्ष जति चुस्तदुरुस्त हुनुपर्ने थियो, त्यो भएन । कमी–कमजोरी धेरै देखिए, राम्राभन्दा हाम्रालाई काखी च्याप्दा रातारात मालमाल हुने र राज्यको ढुकुटी रित्याउने प्रसस्त देखिए । यथार्थमा भन्नुपर्दा गुटगत राजनीतिले गर्दा १३औँ सागमा प्रधानमन्त्री ओली गुट पूर्ण रूपमा हाबी हुँदा केही चैते काङ्ग्रेसले पनि हातको सफाइ गर्ने मौका पाए । सदस्यसचिवकी छोरीदेखि प्रधानमन्त्री ओलीका खेलकुदको ‘खे’समेत नजान्ने कोरा कार्यकर्ताले सागमा हालिमुहाली नै गरे, यो १३औँ सागको तीतो सत्य हो । सागको यथार्थ यस्तो भए पनि नेपालले हासिल गरेको ऐतिहासिक सफलताका कारण यी काला पक्षहरू अहिले निस्तेज बनेका छन् । तर, कहिलेसम्म ? जुन आफैँमा प्रश्नचिह्नको घेरामा छन् । जसको खोजीनिती सम्बन्धित निकायले भविष्यमा गर्ने कुरामा आस गर्न सकिन्छ, विश्वास गर्न भने सकिँदैन । किनकि नेपालमा अहिले दुईतिहाईको सरकार छ ।

१३औँ साग ऐतिहासिक रूपमा सफल भए पनि सुटिङ खेलका कारण त्यो सफलतालाई किरिकिरी बनाइदिएको छ । परिणाम, नेपालको ऐतिहासिक सफलता छायामा पर्नुको साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठामा समेत दाग लागेको छ । नेपाल सुटिङ सङ्घले १३औँ सागमा प्रतिस्पर्धाका लागि आवश्यक पर्ने डे«स, पेस्तोल र राइफलका लागि चार महिनाअघि नै राखेपमा पत्राचार गरेको थियो । राखेपका सदस्यसचिव सिलवालले समयमै खेलसामग्री उपलब्ध हुने कुरामा सङ्घका पदाधिकारीलाई विश्वास दिलाएका थिए । समय बित्दै गयो, प्रशिक्षण गर्ने बेलासम्म पनि कुनै सामग्री आएन् । त्यसपछि २० वर्ष पुराना थोत्रा पेस्तोल र राइफलबाट सुटिङ खेलाडी प्रशिक्षण गर्न बाध्य भए । जुन आठौँ साफमा खरिद गरिएका थिए । यसरी एउटा पेस्तोल र राइफलबाट लाइन लागेर १३औँ सागको प्रशिक्षणमा जुटेका सुटिङ खेलाडीले खेल शुरु हुँदासम्म नयाँ खेल सामग्री प्राप्त गर्न सकेनन् । परिणाम नेपाल सागमा पदकविहीन बन्यो । तर, राखेपका सदस्यसचिव सिलवालले झुटको खेती गर्न भने छोडेनन् ।

बन्द प्रशिक्षण र प्रतियोगिता शुभारम्भ हुनुपूर्व बारम्बार राखेपमा ताकेता गर्दा पनि सदस्यसचिव सिलवालले सबै काम फास्ट ट्र्याकबाट हुँदै छ समयमै सम्पूर्ण सुटिङ खेल सामग्री आउने विश्वास दिलाएका थिए । सुटिङ खेल सामग्रीबारे विवाद चुलिएपछि खुद सिलवालले एउटा सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा सुटिङको सम्पूर्ण सामग्री आइसकेको बताएका थिए । विडम्बना ! उनी कति झुटो बोल्दा रहेछन् त्यो कुराको सुटिङ खेलाडी पदकविहीन भएपछि पुष्टि भएको छ । प्राप्त जानकारीअनुसार अहिलेसम्म पनि सुटिङका सम्पूर्ण खेल सामग्री नआएको स्रोतले जानकारी गराएको छ । सुटिङको प्रतिस्पर्धा सकिनै लाग्दा अर्थात् १३औँ सागको समापनको दुई दिनअघि ड्रेस, जुत्ता र चस्मा आए पनि पेस्तोल र राइफल अहिलेसम्म आएको छैन । सुटिङका लागि सबैभन्दा आवश्यक र महत्वपूर्ण मानिने पेस्तोल र राइफल नै नआएपछि अन्य कुरा औचित्यहीन हुने स्रोतको दाबी थियो । त्यस्तै साग सकिएपछि बन्दुकमा हावा भर्ने कम्पेसर मेसिन आएको स्रोतले बताएको छ । तर, अहिले सबै कुरा समाप्त भइसकेको छ, सदस्यसचिव सिलवालको मुख चलेको छ, सुटिङमा गोली चलेको छैन, वास्तविक कुरा यही हो । यो कुरा सबैले थाहा पाउन जरुरी छ । किनकि सुटिङमा खेलाडीका कारण पदक नआएको होइन, सदस्यसचिव सिलवालको कारण हो, यसको जिम्मेवारी सिलवालले लिनुपर्छ । विगतका साग गेममा स्वर्ण जितेर अन्तराष्ट्रमा राष्ट्रको झन्डा फहराउन सफल सुटिङ खेलको अहिले जसरी मानमर्दन गरिएको छ त्यसको ‘खलपात्र’ अरू कोही नभई सिलवाल हुन् ।

सागमा समावेश २५ खेलले पदक जिते पनि सुटिङ भने पदकविहीन बनेको छ । सुटिङ पदकविहीन बनेपछि त्यस खेलका खेलाडीको अहिले रुवाबासी चलेको छ । सहकर्मी साथीहरू विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित हुँदा सुटिङ खेलाडी उँधो मुन्टो लगाउन बाध्य भएका छन् । आफ्नो घरमा आयोजना भएको सागमा अन्य सबै खेलले पदक जित्दा सुटिङ मात्र पदकविहीन बन्दाको पीडा कस्तो हुन्छ त्यो अहिले सुटिङका खेलाडीले भोगिरहेका छन् । उनीहरूलाई यस्तो स्थितिमा ल्याउन सदस्यसचिव सिलवालको भूमिका विशेष रहेको छ । सिलवालले सुटिङ खेलका खेलाडी र पदाधिकारीलाई जुन विश्वास दिलाएका थिए त्यसमा उनी पूर्ण रूपमा असफल भएका छन् । सिलवालको यो हर्कतले उनले सुटिङप्रति सौतेलो व्यवहार गरेको पुष्टि पनि भएको छ ।

तत्कालीन राखेपका सदस्यसचिव युवराज लामाले सुटिङ हल भत्काएर अन्य खेलहरू उक्त हलमा आयोजना गर्न थालेदेखि नै सुटिङ खेलको प्रशिक्षणमा अवरोध उत्पन्न भएको थियो । त्यही समयदेखि अहिलेसम्म सुटिङ खेलाडीले उक्त हलमा प्रशिक्षण गर्न नपाएको नेपाल सुटिङ सङ्घका अध्यक्ष पुष्पदास श्रेष्ठले खुलासा गरेका छन् । पछिल्लो समय चाइनिज कम्पनीले सुटिङ रेन्जको निर्माणको जिम्मा लिएपछि खेलाडीलाई प्रवेश निषेध नै गरिएको थियो । नेपाली खेलाडीले नयाँ निर्माण गरिएको सुटिङ रेन्जमा प्रशिक्षण गर्न त परै जाओस् देख्नसमेत पाएका थिएनन् । चाइनिज कम्पनीले गत मङ्सिर १५ गते अर्थात् १३औँ साग शुभारम्भ भएको दिनमा मात्र सुटिङ रेन्ज खोलेको अध्यक्ष श्रेष्ठले बताए । यसरी दुई–चार दिन मात्रै नवनिर्मित सुटिङ रेन्जमा नेपाली खेलाडीले पुराना थोत्रा सामग्रीबाट प्रशिक्षण गरेका थिए ।

अन्य २५ खेलले पदक जित्दा सुटिङ खेल पदकविहीन भयो, तपाईंलाई कस्तो महसुस भइरहेको छ भन्दा अध्यक्ष श्रेष्ठले भने, ‘सर्वप्रथम प्रशिक्षण गर्ने ठाउँ थिएन, दोस्रो प्रशिक्षण गर्दा आवश्यक पर्ने खेल सामग्री थिएन, तेस्रो २० वर्ष पुराना खेल सामग्रीमा भर पर्नुपर्ने बाध्यता थियो, यस्तो अवस्थामा पदक जित्ने सम्भावना निकै क्षीण थियो ।’ तैपनि खेलडीहरूले उचित समयमा खेल सामग्री प्राप्त गरेको भए स्वर्ण पदक त होइन रजत र कांस्य पदक जित्ने सम्भावना थियो– अध्यक्ष श्रेष्ठले भने । सबैले बुझ्नुपर्ने कुरा के हो भने १ महिना १५ दिनमा टेन्डर आह्वान खोलेर कहाँ खेल सामग्री ल्याउन सकिन्छ । भारतमा गएर सुटिङको खेल सामग्री किन्ने होइन, यसको प्रक्रिया निकै झन्झटिलो छ, कम्तीमा पनि ६–७ महिनाअघिदेखि प्रोसेस गर्नुपर्छ । तर, राखेपले के आधारमा फास्ट ट्र्याकबाट खेल सामग्री ल्याउने भन्यो त्यो आफूले अहिलेसम्म बुझ्न नसकेको अध्यक्ष श्रेष्ठले बताए । सबै खेलले पदक जित्दा आफू अध्यक्ष रहेको खेल सुटिङ पदकविहीन हुँदा दुःख लाग्नु स्वाभाविकै हो, तैपनि नेपाली खेलाडीले राम्रो स्कोर गरेर छनोट हुन सफल भएका छन्, त्यसैमा चित्त बुझाएको छु ।

१३औँ सागमा सुटिङको यस्तो हरिविजोग हुनुमा कसलाई दोषी ठान्नुहुन्छ भन्दा श्रेष्ठभनाइ थियो– मेरो जिम्मेवारी भनेको समयमै सम्बन्धित निकायलाई जानकारी गराउनु हो, मैले गराएको छु । बाँकी काम राखेपको हो, राखेपले किन यस्तो कार्य गऱ्यो त्यो सदस्यसचिवलाई सोध्दा नै राम्रो हुने र सत्यतथ्य बाहिर आउनेछ । मैले भन्नुपर्दा जनताले जे भन्छन्– त्यही भन्छु, आखिर सत्य पनि त्यही हो, सबैले ऐनाजस्तै छर्लंङ देखेका छन् ।