बास्केटबलका खेल-सामग्री अन्तर्राष्ट्रिय मापदण्डअनुरुप नभएको आशङ्का

बास्केटबलका खेल-सामग्री अन्तर्राष्ट्रिय मापदण्डअनुरुप नभएको आशङ्का


■ श्रीविक्रम भण्डारी

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा बास्केटबल खेल सञ्चालनका लागि ल्याइएका खेल सामग्री अन्तर्राष्ट्रिय मापदण्डअनुरुप नभएको चर्चा शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालको निर्देशनमा उनकै व्यवसायिक ‘पार्टनर’ तथा वार्ता समितिका संयोजक पुरेन्द्रविक्रम लाखेले भारतबाट खरिद गरी ल्याएका बास्केटबलसम्बन्धी खेल सामग्री गुणस्तरहीन र अन्तर्राष्ट्रिय मापडण्डअनुरुप नभएको स्रोतले दाबी गरेको छ ।

भारतदेखि फास्ट ट्रयाकबाट खरिद गरिएका बास्केटबलका ती सामग्रीको मूल्य अन्तर्राष्ट्रिय मापदन्डका सामग्रीसरह नै भएपनि खेल समाग्रीको अवलोकन गर्दा त्यस्तो देखिँदैन । प्राप्त जानकारीका अनुसार संयोजक लाखेले उक्त सामग्री ८ लाखमा खरिद गरेको र बिलचाहिँ १८ लाखको बनाएको अहिले खेलकुदमा व्यापक चर्चा चलेको छ ।

गुणस्तरहीन र अन्तर्राष्ट्रिय मापदण्डअनुरुप नभएकै कारण १३औँ सागमा ती खेल सामग्रीको प्रयोग नगरिएको यतिबेला खेलकुदमा चर्चा चलेको छ । १३औँ सागमा प्रयोग नभएपछि अहिले ती सामग्रीहरु दशरथ रङ्गशाला खेलकुद परिषदको हाताभित्र यत्रतत्र बेवारिसे अवस्थामा छरिएर रहेका छन् । जसलाई व्यवस्थापन गर्ने कार्य सम्बन्धित निकाय र राखेपले अहिलेसम्म गरेको छैन ।

यी बेवारिसेझैँ छरिएर रहेका खेलकुद सामग्रीका बारेमा नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापासँग सम्पर्क गर्दा उनले अहिले नेपाल भित्रिएको बास्केटबलको खेल सामग्री कस्तो मापदण्डको छ भन्ने सम्बन्धमा आफू अनभिज्ञ रहेको बताए । थापाले राष्ट्रिय र अन्तर्राष्ट्रिय बास्केट बल प्रतियोगिताको आयोजना गर्दा सर्वप्रथम ‘फीडा’ स्ट्यान्डर्डको हुनुपर्ने, त्यो नभए कम्तिमा पनि ‘आईएसओ’ स्ट्यान्डर्ड हुनुपर्ने खुलासा गरे ।

‘१३औं सागको लागि ल्याइएको बास्केटबलको खेल सामग्री मैले आईएसओ स्ट्यान्डर्डको जत्तिको पनि नभएको सुृनेको छु । उक्त सामग्री कस्तो मापदण्डको हो भन्ने त खेल सामग्रीको कम्पनी र ट्याग हेरेपछि थाहा भइहाल्छ’, थापाले भने । फीडा स्ट्यान्डर्डको खेल सामग्रीको मूल्य १७ देखि १८ लाखसम्म पर्ने थापाले खुलासा गरे ।

‘खेल सामग्री हामीलाई राज्यले दिने हो, कुनै व्यक्तिविशेष र प्राइभेट कम्पनीले होइन’ भन्नेमा हामी प्रस्ट छौं । राज्यले दिने कुरामा हामी कुनै मितव्ययीता अपनाउने पक्षमा छैनौं । हामीलाई सर्वप्रथम फीडा स्ट्यान्डर्डको, त्यो नभए कम्तिमा पनि आईएसओ स्ट्यान्डर्डको सामान चाहिन्छ । यदि अहिले ल्याएको खेल सामग्री त्यो स्तरको छैन भने त्यसलाई स्वीकार्न सकिँदैन‘– महासचिव थापाले भने ।

उनले १३औँ सागको लागि ल्याइएका उक्त सामग्री माथि उल्लेख गरिएअनुसारको छैन भने त्यसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता समेत गर्न नमिल्ने खुलासा गरे । त्यस्तै, त्यस्तो मापदण्डविपरीतको कमसल सामग्रीमा खेलाडीहरूले खेल्न समेत नमान्ने र त्यस्ता सामग्रीमा खेलाडीहरुलाई प्रशिक्षण गराउन मात्र सम्भव हुने थापाले बताए ।