‘खेलाडी’ राज्यमन्त्रीलाई मखन बुद्धिचाल क्लबको बधाई

‘खेलाडी’ राज्यमन्त्रीलाई मखन बुद्धिचाल क्लबको बधाई


बुद्धिचाल खेलका राष्ट्रिय खेलाडी रामवीर मानन्धर हालै नेपाल सरकारको शहरी विकास राज्यमन्त्री नियुक्त भएकोमा मखन बुद्धिचाल क्लबले ढिलो गरी बधाई दिएको छ ।

क्लबका अध्यक्ष एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ, काठमाडौंका पूर्वअध्यक्ष सीताराम अग्रवाल, खेलाडी सुरजप्रसाद श्रेष्ठ, अरुणशंकर वैद्य, राजेन्द्र बज्राचार्य, रामकृष्ण महर्जन, सुरवीर लामा एवं राकेश रौनियारलगायतले उनको कार्यकक्षमै पुगेर राज्यमन्त्री रामवीरलाई बधाई दिएका हुन् ।

बधाई थाप्दै राज्यमन्त्री मानन्धरले बुद्धिचाल खेलका लागि आफूले सक्दो सहयोग प्रदान गर्ने बताए । मन्त्रालयको जिम्मेवारी बहन गरेकोमा बधाई दिँदै बुद्धिचाल खेलका लागि सहयोग गर्न अनुरोध गरिएको थियो । राज्यमन्त्रीबाट बुद्धिचाल खेलको विकासमा सहयोग र साथ रहने आशा उनीहरूले गरेका छन् ।

निकट भविष्यमै क्लबले गर्न लागेको अन्तर्राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिताको लागि प्रस्ताव पनि सो अवसरमा पेश गरिएको छ । प्रतियोगिता आयोजनाका लागि आफू र मन्त्रालयबाट सक्दो सहयोग दिने राज्यमन्त्री मानन्धरले बचन दिएका छन् ।