थाइल्याण्डका खेलाडी नकआउट, धमलाको सनसनीपूर्ण विजय

थाइल्याण्डका खेलाडी नकआउट, धमलाको सनसनीपूर्ण विजय


थाइल्यान्डको एसियाटिक दि रिभरफ्रन्टमा आयोजना भएको मुयथाई च्याम्पियनसीपमा नेपालका शंकर धमलाले सनसनीपूर्ण विजय हासिल गरेका छन् । निकै प्रतिस्पर्धात्मक खेलमा धमलाले थाइल्यान्डका खेलाडी एओरीलाई दोश्रो राउन्डमा नकआउट गर्दै विजय हासिल गरेका हुन् ।

६२ केजी तौल समुहमा भएको भीडन्तमा धमलाले थाइल्यान्डका खेलाडी एओरीलाई दोश्रो राउन्डमा नकआउट गरेका हुन् । पहिलो राउन्ड देखि नै आक्रमक रुपमा प्रस्तुत भएका धमलाले खेलअवधिभरि नै थाइल्यान्डका खेलाडीलाई दबाबमा राखेका थिए ।

खेलमा निकै फुर्तिला देखिएका थाइल्यान्डका खेलाडीले उत्कृष्ट किक बक्सिङको प्रदर्शन गरे पनि उनी पटक पटक असन्तुलित हुँदै रिङमा लडेका थिए । त्यसको फाइदा उठाउँदै धमलाले दोश्रो राउण्डमा उत्कृष्ट किक र बक्सिङको प्रहारसंगै थाइल्यान्डका खेलाडीलाई दोश्रो राउन्डमा नकआउट गरेका थिए ।

विजयपछि निकै प्रसन्न देखिएका धमलाले मुलुक वाहिर रहेर पनि नेपालको झण्डा विदेशमा फहराउन पाएकोमा खुशी व्यक्त गरेका छन् । ‘यो मेरो व्यक्तिगत विजय होइन, यो नेपालको विजय हो, आज पुनः नेपालको मान सम्मान र प्रतिष्ठा विदेशमा पनि बढाउन सफल भएको छु, निकै खुशी छु, धमलाले भने ।’

साथै धमलाले आफ्नो विजयको श्रेय बोस रोवी रायन, डिपार्टमेन्ट हेड स्टीम लाइ र ट्रेनर क्रु डिजल र पत्नी सुस्मा धमलालाई दिएका छन् । उनीहरुको सपोर्ट र साथले गर्दा नै आफुले विजय हासिल गरेको खुलासा गरेका छन् । यसको लागि उनीहरुलाई धन्यवाद दिदै आगमी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेका बताए ।

स्मरण छ, शंकर धमला बालाजु सितोरियो कराते प्रतिष्ठानवाट उत्पादित करातेका राष्ट्रिय खेलाडी हुन् । उनी अहिले रोजगारको शिलशिलामा मकाउमा कार्यरत छन् ।