सैनिक र नागरिकको सम्बन्ध बढाउन अन्तर्राष्ट्रिय महिला फुटबल

सैनिक र नागरिकको सम्बन्ध बढाउन अन्तर्राष्ट्रिय महिला फुटबल


नेपाली सेनाको आयोजनामा प्रधानसेनापति सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल प्रतियोगिता–२०७६ आज (२९ मंसिर) शुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको सहकार्यमा प्रतियोगिता हुन लागेको हो ।

आठ टिमले सहभागता जनाउने प्रतियोगितालाई दुई समूहमा वर्गीकरण गरिएको छ । समूह ‘ए’ मा आयोजक त्रिभुवन आर्मी क्लब, प्रदेश १, एपीएफ र सिक्किम रहेका छन् । समूह ‘बी’ मा प्रदेश २, नेपाल पुलिस क्लब, प्रदेश ५ र भुटान छन् ।

प्रत्येक समूहबाट शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनमा पुग्नेछन् । पछिल्ला छ संस्करण नकआउटको आधारमा सम्पन्न भएकोमा यसपालिदेखि समूह विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाउन लागिएको हो । पहिलो खेल आर्मी क्लब र प्रदेश १ बीच हुनेछ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित तीन लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी उपविजेतालाई एक लाख ५० हजार रुपियाँ प्रदान गरिनेछ । सेमिफाइनलमा पराजित हुने दुई टिमलाई पचास÷पचास हजार रुपियाँले पुरस्वृmत गरिनेछ ।

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीले स्कुटर पुरस्कार पाउनेछ । यसैगरी सर्वश्रेष्ठ, गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई जनही दस हजार रुपियाँ पुरस्कार स्वरुप दिइनेछ ।

महासेनानी शशिकिरण रायमाझीले २०७० सालदेखि सञ्चालन भइरहेको यो प्रतियोगितालाई अझ स्तरीय बनाउन दुई विदेशी टिमलाई सहभागी गराइएको हो, भन्नुभयो । उहाँका अनुसार सिक्किम र भुटानको उत्कृष्ट महिला टिमले प्रतियोतिगामा खेल्नेछन् । उहाँले सैनिक र नागरिकको सम्बन्ध बढाउन, खेलको माध्यमबाट सम्बन्ध सुमुधुर बनाउन र महिला खेलकुदको विकास गर्नु यो प्रतियोगताको उद्देश्य हो भन्नुभयो ।

प्रतियोगिता नेपाली सेनाको मुख्यालयभित्र रहेको खेल मैदान तथा ललितपुरको लगनखेलस्थित सेनाको दुई मैदानमा खेलाइनेछ ।