शनिबारदेखि पोखरामा पिपिएल टी–२० क्रिकेट प्रतियोगिता

विजेतालाई २७ लाख पुरस्कार

पोखरामा यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेतालाई २७ लाख पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतियोगिता आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले पुरस्कार राशि सार्वजनिक गरेको हो । प्रतियोगिताको उपविजेताले १० लाख पाउनेछन् । त्यसैगरी पिपिएलको ‘म्यान अफ दी सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीनजना खेलाडीलाई टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्वी लामा बताउँछन् ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई १० हजार पुरस्कार प्रदान गरिने भएको छ । त्यसैगरी प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडीलाई सुविसु किलियर टेलिभिजन र प्रत्येक खेलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीलाई सुविसु फास्टेस फिप्टी प्रदान गरिनेछ । जसमा एक वर्षका लागि निःशुल्क सुविसु केबलनेट प्रालिको इन्टरनेट र किलियर टेलिभिजन उपलब्ध गराउने बताइएको छ ।

अघिल्लो संस्करणको पुरस्कार राशिलाई यथावत् राख्दै खेलाडीका लागि अन्य व्यक्तिगत पुरस्कार तथा सुविधामा वृद्धि गरिएको आयोजकले जनाएको छ । पिपिएलको दोस्रो संस्करणमा ६ टोलीको सहभागिता रहेको छ । जसमा साबिक विजेता पोखरा पल्टन, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज छन् ।



प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको तथा खेलका लागि खेलाडी पोखरा पुग्ने क्रम शुरु भइसकेको आयोजकको भनाइ छ ।

प्रतिक्रिया