न्युजिल्यान्ड ज्वालामुखी विस्फोटनमा १३ को मृत्यु

न्युजिल्यान्ड ज्वालामुखी विस्फोटनमा १३ को मृत्यु


न्युजिल्यान्ड प्रहरीले मंगलबार ‘सेतो टापु’ भनेर चिनिने ह्वाइट आइल्यान्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ ।

ज्वालामुखीको खतरा छ भन्दै सोमबारको प्रकोपको एक हप्ताअघि नै चेतावनी दिइए पनि त्यसलाई बेवास्ता गरेको भन्दै चौतर्फी आलोचना भइरहेको समयमा प्रहरीको यस्तो भनाइ सार्वजनिक भएको हो । पर्यटकका लागि निकै लोकप्रिय उत्तरी द्वीपका तटीय इलाका भ्रमण नगर्न दिइएको सुझावलाई टुर अपरेटरहरूले बेवास्ता गरे नगरेको विषयमा प्रहरीले छानबिन गर्न लागेको हो ।

प्रहरीले एक वक्तव्य जारी गरी ज्वालामुखीमा ‘मृत्यु र घाइतेको अवस्थाबारे अनुसन्धान सुरु गरेको’ जनाएको छ । यद्यपि, उनीहरूले फौजदारी अभियोगको अनुसन्धान गर्ने भनी यसअघि गरेको घोषणा भने फिर्ता लिएका छन् । प्रहरीले फौजदारी अभियोगमा छानबिन गर्न नचाहनुको कारण भने खुलाएको छैन ।

प्रहरीले छानबिन थाल्ने घोषणा गर्नुअघि ट्राभल अपरेटर कम्पनी ह्वाइट आइल्यान्ड टुर्सले सुरक्षात्मक सबै जिम्मेदारी पूर्ण रूपमा पालना गरेको जनाएको थियो ।

अधिकारीहरूले पाँचजनाको मृत्यु भएको पुष्टि गरेका छन् भने अरू आठजना बेपत्ता छन् । हराइरहेका आठजनाको मृत्यु भएको उद्धारकर्ताहरूले अनुमान गरेका छन् । न्युजिल्यान्डको सबैभन्दा सक्रिय ज्वालामुखी ह्वाइट आइल्यान्डमा सोमबार दिउँसो ज्वालामुखी विस्फोट भएको थियो ।

‘हामी हाम्रो सरकारी जियो साइन्स एजेन्सीको रिपोर्ट हेर्छौं । उक्त दिन ज्वालामुखीको खतराको स्तर २ रहेको मापन गरेको देखिएको छ,’ अध्यक्ष पल क्विनले बताए । कम्पनीले पर्यटकहरूलाई ह्वाइट टापुमा सतर्कता स्तर २ मा हुँदा लैजानु नै भूल हो भन्दै क्विनले यस अवस्थामा ज्वालामुखी विस्फोट हुने खतरा मध्यमदेखि उच्च हुने बताए ।

रासस–एएफपी