पहिलो काङ्ग्रेस सभापतिको पहिलो वक्तव्य

पहिलो काङ्ग्रेस सभापतिको पहिलो वक्तव्य


साथी हो,

हाम्रो यस सभाले जति कुरामा विचार गर्नुपर्ने थियो, तपाईंहरू सन्मुख विभिन्न प्रस्तावका रूपमा ती सबै उपस्थित भइसके र तपाईंहरूले तिनीहरूमाथि आफ्नो स्वीकृति पनि दिइसक्नुभयो । वास्तवमा नेपाल र भारत दुई देश होइनन् । नेपाल जातीय, धार्मिक र आर्थिक दृष्टिबाट हरेक प्रकारले भारतवर्षकै एउटा प्रमुख अङ्ग रहेको देखिन्छ । आज राजनीतिक दृष्टिले जुन भिन्नता देखिन्छ, त्यसको मूलमा कूटनीतिज्ञ र स्वार्थी राजनीतिज्ञहरूको चालबाजी मात्र छ । भारतलाई दासताको जुवा बोकाउने ब्रिटिस शासनले सन् १८५७ को भारतीय जनक्रान्तिपछि हिन्दुस्तानमा उसको राज्य केवल फुटले मात्र कायम हुन सक्छ भन्ने अनुभव ग¥यो । यसको प्रत्यक्ष दृष्टान्त ब्रिटेनले नेपाली र शिखहरूको सहायताबाट त्यस महान् आन्दोलनलाई विफल पार्न सक्नु थियो ।

त्यस आन्दोलनबाट ब्रिटिस राजनीतिज्ञहरूले शिक्षा लिएर ब्रिटिस राज्यमा भारतका साना–साना राज्यलाई गाभ्ने आफ्नो नीति छाडे । त्यसको परिणाम के भयो भने आजसम्म पनि हाम्रा साथी नेपाली भारतवर्षका आफ्नै दाजुभाइहरूको स्वतन्त्रताको बाटोमा मुढो तेस्र्याउँदै छन्, उनीहरूमाथि शत्रुझैँ गोली चलाउँदै छन् । आफ्नै देशका दुई थरी दाजुभाइले मारकाट गर्नु र त्यसबाट विदेशीले लाभ लिनु लज्जाको कुरो हो । नेपाललाई भारतभन्दा भिन्न देश घोषित गर्दा केवल ब्रिटिस साम्राज्यवादलाई मात्र लाभ छैन, बरु यसबाट हाम्रा देशका स्वेच्छाचारी शासकहरूको पनि ठूलो स्वार्थसिद्ध हुन्छ । भनौँ, यसैमा उनीहरूको अस्तित्व कायम रहन्छ । उनीहरूले भारतभन्दा भिन्न घोषित गरेर नै अशिक्षा र अज्ञानतामा राखिएका आफ्ना सोझा प्रजालाई मूर्ख बनाउँदै भारतवर्षमा चलिरहेको स्वतन्त्रता आन्दोलनबाट अलग राख्न र त्यसको बाधक बनाउन पनि सक्छन् । यसरी अलग हुँदा नेपालका प्रजा पनि उत्तरोत्तर बलवान हुँदै गइरहेका आफ्ना भारतीय दाजु–भाइ, दिदी–बहिनीहरूको सहयोग र सहायताबाट वञ्चित हुनेछन् ।

तर, हामी त्यति सजिलै ठगिने छैनौँ । ज्ञानको प्रखर ज्योतिले हाम्रा आँखा पनि बिस्तारो–बिस्तारो उघ्रन लागेका छन् । हामीहरूलाई यति चाँडै यतिका सहयोगी प्राप्त हुनु त्यसैको प्रमाण हो । हामीले अब अझै सङ्गठित भएर–

१. नेपालमा अहिंसात्मक साधनद्वारा जनताको सहयोगले उत्तरदायी शासनको स्थापना गर्ने, र

२. भारतीय स्वतन्त्रतासङ्ग्राममा पनि पूर्ण सहयोग दिने आफ्नो संस्थाका यी उद्देश्यलाई प्रत्येक नेपाली दाजुभाइ, दिदीबहिनीको कानसम्म पु¥याएर उनीहरूको सहानुभूति र सहयोग प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ । किनभने, जनताको राज्य स्थापित गर्नका लागि जनताकै सहायता चाहिन्छ । यो काम सम्पन्न गर्न लुकेर वा गुप्त सङ्गठनद्वारा त्यति सजिलो हुँदैन । नेपाल प्रजापरिषद्को विफलता र भारतमा क्रान्तिकारी दलको असफलताले यो कुरा सिद्ध गरिसकेको छ । म मान्दछु, नेपालको वर्तमान शासनप्रणाली शिथिल भइसकेको छ । सुधारवादीहरूको साधारणभन्दा साधारण कामले पनि अपराधी शासकहरू तर्सन्छन् र उनीहरूलाई बलपूर्वक हटाउन गाह्रो छैन । तर, त्यस अवस्थामा मात्र यो काम सफल हुनसक्छ, जब ब्रिटिस शक्ति आफ्ना सहायक यी कठपुतली शासकहरूको सहायताका लागि जनतालाई दमन गर्न तोप र तरबार लिएर हाजिर हुने छैन । यही कारणले हामीले ‘भारतमा ब्रिटिस शासनको अन्त्य गर्नका निमित्त भारतीय स्वतन्त्रता–सङ्ग्रामलाई पनि पूर्ण सहयोग दिने’ उद्देश्य राख्नु आवश्यक भएको हो । यसका अतिरिक्त एउटै उद्देश्य लिएर अग्रसर हुँदा भारत र नेपालका साथीहरूलाई पारस्परिक सहायताले पनि निकै बल दिनेछ र जर्जर भइसकेको ब्रिटिस शासनको नास अझ छिटो गरिदिनेछ । निःसन्देह, यो काम अखिल भारतीय काङ्ग्रेस महासभाले लिएको अहिंसाको साधनबाटै हुनेछ । त्यसको अभेद्य शक्ति, सुरक्षित प्रयोग र स्थायी प्रभाव कसैको दृष्टिबाट लुकेको छैन ।

हाम्रा वर्तमान शासकहरूले ‘हाम्रो देश नेपाल त अझै स्वतन्त्र छ’ भनेर आफ्ना सोझा प्रजालाई छक्याएको देख्दा हाँसो उठ्छ । के स्वतन्त्रताको लक्षण यही हो ? यहाँ रहेको देशव्यापी अशिक्षा र दरिद्रताले मानिस र पशुमा खासै अन्तर छैन । जनतालाई बोल्ने स्वतन्त्रता छैन, हिँड्ने स्वतन्त्रता छैन, विचार गर्ने स्वतन्त्रता छैन, रुने–हाँस्ने स्वतन्त्रता छैन । जनताको मान, इज्जत, जीवन, परिवार, धन, यश केही सुरक्षित छैन ।

स्वेच्छाचारी शासक वर्गको मर्जी र हुकुमको अगाडि सबै निरीह छन् । यहाँ कानुन भनेको केही पनि होइन, केवल प्रभुको हुकुम मात्र ठूलो कुरा हो । यो स्वतन्त्रता हो कि स्वतन्त्रताको उपहास ? जापान र टर्की पनि नेपालजत्रै राष्ट्र हुन् । तर, नेपाल र उनीहरूमा तुलना गर्ने मिल्दैन । उनीहरूभन्दा हामीहरू कुनै कुरामा हीन थियौँ ? तर, किन हाम्रो यस्तो अवस्था छ ? प्रजालाई स्वतन्त्रताको धोकामा राख्ने नेपालका शासकहरूले यसको उत्तर दिऊन् ।

हामीहरूले निकै पछि चेत्यौँ । संसार हामीभन्दा निकै अगाडि बढिसक्यो, उसलाई हामीहरूले दगुरेर भेट्टाउनुप¥यो । अब हामीसँग गँड्यौलाको चालले बामे सर्ने समय छैन । नेपाल सरकारले नगरपालिका र अरू त्यस्तै साधारण विभागमा काम गर्ने आफ्ना चाकरियालाई ‘जनताका प्रतिनिधि हुन्’ भनेर प्रजाका आँखामा छारो हाल्ने समय उहिल्यै बितिसक्यो । हामी नेपालमा उत्तरदायी शासन स्थापना नभई कदापि सन्तुष्ट हुन सक्दैनौँ । नेपालको वर्तमान सरकारले जनताको भलो चाहन्छ भने अझै बढी हानि हुनुभन्दा पहिले नै शुद्ध मनले तुरुन्तै यस काममा तत्परता देखाओस् ।

बन्दे मातरम

(उद्घाटन भाषण : १९४७ जनवरी २६)

(साभार : नेपाली काङ्ग्रेस ऐतिहासिक दस्तावेजहरू । सङ्कलन तथा सम्पादनः गगन थापा, प्रताप पौडेल, शंकर तिवारी)