देशलाई गुन लगाउने मौकामा तुलसाको बेइमानी

देशलाई गुन लगाउने मौकामा तुलसाको बेइमानी


■ श्रीविक्रम भण्डारी

१३औँ सागको पूर्वसन्ध्यामा प्रशिक्षण छोडेर आखिर किन कतार पलायन भइन् तुलसा खत्री ? अहिले आमखेलप्रेमीहरूको चासोको विषय बनेको छ । वैदेशिक रोजगारीका लागि विदेश (कतार)जाने उनको मनसाय थियो भने किन बन्द प्रशिक्षणमा बसिन् ? चासोको विषय बन्नु स्वाभाविकै हो । प्रशिक्षणमा पनि बस्ने अनि अन्तिम समयमा विदेश पलायन हुने तुलासाको यो कदमलाई कदापि सकारात्मक मान्न सकिँदैन । यहाँनेर तुलसा अवश्य चुकेकी छिन् ।

तुलसाको बाध्यता आफ्नो ठाउँमा थियो होला, तर उनको बाध्यतासँगै राष्ट्रको प्रतिष्ठा पनि गाँसिएको उनले बिर्सिन् । यो घटना व्यक्तिगत रूपमा तुलसाको लागि पनि राम्रो होइन भने राष्ट्रको लागि त घात नै हो । किनकि तुलसामाथि राज्यले लगानी गरेको छ, पदकको आशा पनि गरेको थियो । तर, तुलसाले राष्ट्रको स्वार्थभन्दा व्यक्तिगत स्वार्थलाई बढी प्राथमिकतामा राख्दा यस्तो घटना घट्यो । जुन आफैँमा अहिले अकल्पनीय घटना बनेको छ । नेपालको खेलकुद इतिहासमा पहिलोपल्ट स्वदेशकै प्रशिक्षण स्थलबाट तुलसा विदेश पलायन भएकी छिन् ।

साँचो रूपमा भन्नुपर्दा यतिबेला तुलसाले राज्यलाई ठूलो धोका दिएकी छिन् । राज्यलाई गुन लगाउने बेलामा उनी बैगुनीको भूमिकामा देखिएकी छिन् । १३औँ सागमा एथलेटिक्सतर्फ सम्भावित पदक जित्ने खेलाडीको नाममा सूचीकृत खेलाडीले यस्तो कदम चाल्दा त्यसको नकारात्मक प्रभाव अहिले सिङ्गो एथलेटिक्स खेलाडीमा परेको छ । एउटा खेलाडी प्रशिक्षण स्थलबाटै कुनै बाहना बनाएर विदेश पलायन हुनु त्यो नेपाली खेलकुदको लागि शुभसङ्केत मान्न सकिँदैन ।

अर्को कुरा यो घटनाले एउटा राष्ट्रिय खेलाडीको भविष्य नेपालमा कति छ त्यसलाई प्रस्ट पारेको छ । यहाँ खेलाडी पलायनभन्दा पनि तुलसाको पलायनले नेपालको खेलकुदको स्थिति कस्तो छ त्यसलाई ऐनाजस्तै छर्लङ्ग पारेको छ । अन्यथा एउटा चर्चित खेलाडी जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सफलताको स्वाद चाखेको छ, त्यस्तो खेलाडी बिनाकारण विदेश पलायन हुने कुरै आउँदैन । पछिल्लो समयमा एथलेटिक्स सङ्घका देखिएको विवाद, एथलेटिक्स खेलाडीको स्तरमा आएको ह्रासका कारणले पनि आफ्नो उज्ज्वल भविष्यका लागि तुलसाले यो कदम उठाएकी हुन् भन्ने कुरामा अनुमान लगाउन सकिन्छ ।

यसअघि पनि नेपालका थुप्रै राष्ट्रिय खेलाडी विदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका बेला पलायन भएका छन् । त्यसमध्ये कोही अस्ट्रेलिया, कोही कोरिया, जापान, बेलायत, अमेरिका र क्यानडालाई आफ्नो गन्तव्य स्थान बनाएका छन् । त्यसैले नेपाली खेलाडी विदेश पलायन हुनु नौलो कुरा होइन । गरिब देशको खेलाडीले विदेशमा प्रतिस्पर्धा गरेर पदक जित्ने कुरामा भन्दा पनि कसरी विदेशमा खेल्न आएको अवसरमा पलायन हुने त्यो सोच राख्नु स्वाभाविकै हो । यस्ता घटना थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा घटेका पनि छन् । ती चर्चित खेलाडी जो विदेश पलायन भए आखिर किन त प्रश्न यो हो ?

यदि राज्यले ती खेलाडीको भविष्य सुनिश्चित गरेको भए उनीहरू विदेश पलायन हुन्थे होला त ? राष्ट्रिय खेलाडीको ट्याग भिरेर, इज्जतले मात्र कमाएर खान पुग्ने भए ती खेलाडी विदेश पलायन हुने थिएनन् । उनीहरूलाई आर्थिक स्थितिले गाँजेपछि र खेलेर बाँच्नै नसक्ने अवस्थाको सिर्जना भएपछि खेलाडीहरू विदेश पलायन भएका हुन् । जुन अहिले नेपाली खेलकुदका लागि नियमित प्रक्रिया बनेको छ । हिजो अरू कोही पलायन भएको थियो भने आज तुलसा पलायन भएकी छिन् । पात्र फरक भए पनि सबैको उद्देश्य भनेको एउटै हो, ‘आर्थिक समुन्नति ।’ जो सबैको चाहना हुन्छ, खेलाडीहरूले पनि राख्दा के फरक पर्छ । तर, यसो भन्दैमा राज्यको नियम कानुनलाई भने कसैले पनि तोड्न मिल्दैन ।

विदेश खेल्न गएको बेला विदेशमै पलायन हुने खेलाडी र पदाधिकारीको सङ्ख्या असङ्ख्य छ । तर, तुलसाको विदेश पलायन भए पनि माथिका घटनासँग मेल खाँदैन । किनकि तुलसा विदेश गएर विदेश पलायन भएकी होइनन् । उनी नेपालबाट विदेशिक रोजगारका लागि कतार पलायन भएकी हुन् । यसको लागि उनले सम्पूर्ण कानुनी प्रक्रिया मिलाएकी पनि छिन् । राज्यले उनलाई रोजगारीको लागि कतार जान अनुमति दिएको उनको पासपोर्टमा लागेको छापले पनि प्रस्ट पार्छ । यसो भन्दैमा तुलसाको सुख पाउने अवस्था छैन, यसर्थमा कि उनी १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को बन्द प्रशिक्षणमा थिइन् । उनीमाथि राज्यले लगानी गरेको थियो, साग खेल्नु तुलसाको धर्म बन्थ्यो । तर, १३औँ साग शुभारम्भ हुनु दुई दिन अगाडि उनी विदेश पलायन हुनुमा तुलसाको ठूलो कमजोरी देखिन्छ । उनी मात्र एक साता किन नेपालमा अडिन सकिनन्– प्रश्न त्यो हो ।

यतिबेला एउटा चर्चित राष्ट्रिय खेलाडी बन्द प्रशिक्षण छोडेर विदेश पलायन हुनुले थुप्रै प्रश्न उब्जाएको छ । एथलेटिक्सका मुख्य प्रशिक्षक गुरुङले तुलसाले राष्ट्रघात गरेको आरोप लगाएका छन् । सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले घटना अकल्पनीय भएको बताउँदै तुलसाको खोजी गर्ने र फर्काउन प्रयास गर्ने बताएका छन् । तर, आफूले खेलकुदमा भविष्य नदेखेर विदेश पलायन भएको दुखेसो तुलसाले पोखिसकेको अवस्थामा अब सम्बन्धित निकायले कस्तो कारबाही अगाडि बढाउला त्यो प्रतीक्षाको विषय बनेको छ । यथार्थमा भन्नुपर्दा विदेश पलायन भएका खेलाडीहरूमाथि सम्बन्धित निकाय राखेपले अहिलेसम्म कुनै कारबाही गरेको छैन । उल्टै विदेश पलायन भएर दशौँ वर्ष उतै बिताएर आएका भगौडा खेलाडीलाई ससम्मान पुनः राष्ट्रिय टिममा राखेर पुरस्कृत गर्दै आएको घटना कसैबाट छिपेको छैन ।

त्यस्ता केही खेलाडी, प्रशिक्षक र पदाधिकारीहरू अहिले पनि राष्ट्रिय सङ्घ र राष्ट्रिय टिममा हालिमुहाली छ । यस्तो अवस्थामा आफ्नो उज्ज्वल भविष्य र आफ्नो परिवार पेट पाल्नका लागि तुलसा रोजगारीका लागि कतार जानुलाई स्वाभाविक प्रक्रिया मान्नुपर्छ । यो तुलसाको बाध्यता हो भन्दा फरक नपर्ला । तुलसाको गल्ती क्षमायोग्य छ, यसमा कुनै शङ्का छैन । र पनि, उनको विदेश पलायन त्यो समयमा भयो जसको प्रत्यक्ष प्रभाव अहिले राष्ट्रलाई परेको छ । तुलसाले गर्दा अर्को खेलाडी आफ्नो खेल्न पाउने हक अधिकारबाट वञ्चित भएको छ । तुलसामाथि राष्ट्रले गरेको लगानी बालुवामा पानी हालेजस्तै भएको छ । यो कुरा तुलासाले बुझ्नुपथ्र्यो ।

तुलसाले नेपालगन्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चार सय मिटरतर्फ नेपाली सेनाको तर्फबाट स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै केही महिना पहिले चीनमा सम्पन्न सैन्य प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । १३औँ सागमा तुलसाले व्यक्तिगत ४ मिटर र ४ मिटर रिले हडल्समा प्रतिस्पर्धा गर्ने तय भएको थियो ।