दिल्लीमा शुरु भयो अनौठो चर्चा : देउवाको विकल्प विमलेन्द्र !

दिल्लीमा शुरु भयो अनौठो चर्चा : देउवाको विकल्प विमलेन्द्र !


नेपालको कम्युनिस्ट सत्ताले विश्वसनीयता गुमाएपछि अन्योलग्रस्त बन्न पुगेको ‘नयाँदिल्ली’ नेपाली काङ्ग्रेसमा उत्पन्न नेतृत्व सङ्कटलाई देखेर चिन्तित बनेको जानकारी प्राप्त भएको छ ।

नेपालको राजनीतिक परिवर्तनमा सर्वाधिक योगदान पुऱ्याउँदै आएको भारत यतिबेला नेपाल मामिलालाई लिएर किंकर्तव्यविमूढझैँ भएको बुझिन्छ । कम्युनिस्ट नेताहरूले भारतको सहयोग लिने तर ‘वफादारिता’ अन्यत्र दर्शाउने गरेको चर्चा दिल्लीमा हुन थालेको छ । नेपालमा कुनै भरपर्दो वैकल्पिक शक्तिको उदय नभएको र भएको नेपाली काङ्ग्रेसले समेत साख गुमाएको ठहर दिल्लीले गरेको छ ।

काङ्ग्रेसको जनाधार अहिलेसम्म जीवित रहेको, तर उक्त पार्टीको नेतृत्व योग्य र उचित व्यक्तिको हातमा नरहेको ठहरसहित दिल्लीको चिन्ता बढेको बताइन्छ । शेरबहादुर देउवा पूर्ण रूपले असफल प्रमाणित भइसकेको र जनतामा देउवाको छवि अत्यन्त नकारात्मक भए पनि काङ्ग्रेसभित्र निजको विकल्प स्थापित नहुनुलाई दिल्लीले ‘दुःखद आश्चर्य’को रूपमा लिएको बुझिन्छ ।

काङ्ग्रेसभित्र देउवाको विकल्पका रूपमा प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. रामशरण महत, डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेलको नाम लिने गरिएको भए पनि पछिल्लो समयमा डा. शेखर र डा. शशांकको नाम अलिक अगाडि आएको छ । उता अठहत्तर (७८) वर्षीय रामचन्द्र पौडेल पनि आफूलाई देउवाको एक मात्र विकल्प ठान्नुहुन्छ र, कोइरालाहरूलाई सभापति स्वीकार गर्ने तहमा हुनुहुन्न ।

कोइराला क्याम्पमा अनेकता र विवादको स्थिति रहँदा त्यसको पूर्ण लाभ देउवाले लिन सक्ने भएकोले काङ्ग्रेसको आगामी महाधिवेशनमा पनि देउवा नै विजयी बन्न सक्ने विश्लेषण दिल्लीमा हुन थालेको छ । कोइराला क्याम्पमा एकता कायम गर्न नसकिने र शेरबहदुर देउवाले नै पार्टीको नेतृत्व पुनः हात पार्ने स्थिति देखिएपछि ‘नयाँदिल्ली’ देउवा क्याम्पभित्रैबाट देउवाको विकल्प खोज्ने गृहकार्यमा लागेको पाइएको छ । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेशमन्त्री एस जयशङ्कर र विदेशसचिव विजय गोखलेलगायतले देउवाको विकल्पका रूपमा धनुषाका विमलेन्द्र निधिको नाम लिन थालेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।

कोइराला क्याम्पमा एकता कायम गर्न नसकिने र शेरबहदुर देउवाले नै पार्टीको नेतृत्व पुनः हात पार्ने स्थिति देखिएपछि ‘नयाँदिल्ली’ देउवा क्याम्पभित्रैबाट देउवाको विकल्प खोज्ने गृहकार्यमा लागेको पाइएको छ ।

नेपाली काङ्ग्रेसभित्र साम्प्रदायिक (Racial), अधिक कुटिल, धर्मनिरपेक्षताका ठेकेदार र भ्रष्ट व्यक्तिका रूपमा स्थापित विमलेन्द्र निधिलाई सभापतिको उम्मेदवार बनाउन देउवामाथि दबाब पैदा गर्ने रणनीति बन्दै गरेको बुझिएको छ । उता दिल्लीमा विमलेन्द्रको चर्चा शुरु हुनुभन्दा केही अघिदेखि नै उनले यहाँ आरजु राणासँग निकटको सम्बन्ध बनाएका छन् । केही अघिसम्म दुईजनाबीचको सम्बन्धमा सौहार्दता थिएन । तर, अहिले आरजुलाई महामन्त्री या उपसभापति बनाइदिने भनेर निधिले आफ्नो विश्वासमा लिएका छन् ।

आरजु पदका निम्ति आफ्नै पतिसँग समेत भिड्न तयार भएको यस घटनाले देखाएको छ । विमलेन्द्रलाई सभापतिको उम्मेदवार बनाएको अवस्थामा स्वच्छ छविका कुनै राम्रा व्यक्तिलाई उपसभापतिको उम्मेदवार बनाइनुपर्ने ठहरसहित विभिन्न नेताहरूको नाम लिइँदा महामन्त्री पूर्णबहादुर खड्कालाई उपयुक्त व्यक्तिका रूपमा हेरिएको पनि जानकारीमा आएको छ । ज्ञातव्य छ, नेपाली काङ्ग्रेसमा पूर्णबहादुर खड्काको नाम स्वच्छ छविका नेताका रूपमा लिइन्छ ।

काङ्ग्रेसमा उपसभापति र महामन्त्रीका लागि दर्जनौँ नेताहरू योग्य मानिन्छन् । सभापतिका दाबेदार सबै नेता उपसभापति र महामन्त्रीका निम्ति योग्य हुने नै भए, त्यसबाहेक डा. प्रकाशशरण महत, डा. नारायण खड्का, विजयकुमार गच्छदार, बालकृष्ण खाण, विश्वप्रकाश शर्मा, एनपी सावद, चन्द्र भण्डारी र गगन थापासम्मका व्यक्तिलाई समेत सम्भावित पदाधिकारीका रूपमा हेर्न थालिएको छ ।

नरेन्द्र मोदी नेतृत्वको भारतमा विमलेन्द्र निधिजस्ता धर्मनिरपेक्षताका पक्षधर व्यक्तिलाई के कारणले सकारात्मक रूपमा लिन थालिएको हो सो भने रहस्य र आश्चर्यको विषय बनेको छ । केही वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरको भ्रमणमा आउन लाग्दा प्रचण्ड र विमलेन्द्रको योजनामा उक्त भ्रमण अवरुद्ध तुल्याइएको थियो । नेपाललाई हिन्दूराष्ट्र बन्न नदिन मूख्य रूपले क्रियाशील व्यक्तिमध्ये एक विमलेन्द्र मानिन्छन् ।