चित्त दुखाउँदै रोकिए प्रचण्ड !

चित्त दुखाउँदै रोकिए प्रचण्ड !


सपना तुषारापात भएपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो निर्धारित चीन भ्रमण स्थगित गरिदिनुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा प्रचण्ड चार दर्जनभन्दा बढी सदस्य संलग्न जम्बो टोलीले लिएर मङ्सिर २४ गते त्यसतर्फ प्रस्थान गर्ने तयारी अन्तिम अवस्थामा पुगेका बेला उहाँले अचानक भ्रमणमा नजाने निर्णय लिनुभएको हो ।

भ्रमण स्थगित गर्नुको कारण प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिलाई बनाउनुभएको छ, जुन कारण आफैँमा हास्यास्पद मानिएको छ । केपीको उपचारसँग सम्बन्धित विषयमा प्रचण्ड कहीँनेर पनि जोडिनुपर्ने अवस्था छैन । प्रधानमन्त्रीको उपचार कहाँ, कहिले र कसरी गर्ने–गराउने भन्ने कुराको निर्णय केपी, केपीको परिवार तथा खास हितैषी र चिकित्सकहरूको निर्णयका आधारमा हुने हो । तर, प्रचण्डले केपीको स्वास्थ्यलाई आफ्नो चीन भ्रमण रोक्नुपर्ने कारण बताउँदा त्यसले सबैलाई हँसाएको छ ।

घटना र विचारलाई प्राप्त जानकारीअनुसार प्रचण्डले चीन भ्रमण स्थगित गर्नुको कारण बेग्लै छ । चार महिनाअघि चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमणका क्रममा भएको गुप्त संवाद चीनले सार्वजनिक गरिदिएपछि प्रचण्डले त्यसलाई पुष्टि गर्दै खुलेर अमेरिकाविरुद्ध र चीनका पक्षमा बोल्नुपरेको थियो । त्यसरी खुलेरै अमेरिकाको विरुद्ध उभिएपछि आफूलाई चीनले पूरै विश्वास गर्ने र उच्च महत्व दिने आशामा प्रचण्ड रहनुभएको थियो । तर, आफूले सपना देखेअनुसारको महत्व नपाउने बुझेपछि प्रचण्ड चीन भ्रमणमा नजाने निर्णयमा पुग्नुभएको हो ।

प्रचण्ड आफ्नो विश्वासका दुई–चारजना नेतालाई बोकेर बेइजिङ पुगी राष्ट्रपति सी जिनपिङसँग विशेष भेटवार्ता गर्ने सोचमा हुनुहुन्थ्यो । तर, प्रचण्डको टोलीलाई बेइजिङ पु¥याउने कार्यक्रम भ्रमण तालिकामै थिएन । आफ्नो विश्वासपात्र मात्र नभई झन्डै पचासजनालाई नै टोलीमा राखिएको, ल्हासा हुँदै सियानसम्म पुग्ने र अध्ययन भ्रमण गरी फर्कने कार्यक्रम तय गरिएको जानकारी प्रचण्डले पाउनुभएपछि उहाँ भड्किनुभएको बुझिएको छ ।

प्रचण्डले चिनियाँ राजदूतमार्फत बेइजिङ पुग्ने र राष्ट्रपति सीसँग भेटवार्ता गर्ने प्रयास गर्नुभएकोमा त्यसको स्पष्ट जवाफ उहाँलाई मिलेन । आफूले चाहेजस्तो स्तरको भ्रमण नहुने देखिएपछि प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्यको कारण देखाउँदै चीन भ्रमण नजाने जानकारी चिनियाँ राजदूतलई गराउनुभएको हो । प्राप्त जानकारीअनुसार आफ्नो चीन भ्रमणलाई महत्वहीन बनाउन केपी ओलीको टोली लागिपरेको ठहर प्रचण्डले गर्नुभएको छ । जे होस्, यस प्रकरणले चीन र प्रचण्डबीच धेरै पहिले नै उत्पन्न शङ्का र अविश्वास थप गहिरिने सम्भावना बढाएको छ ।