तोडियो लाल किल्ला, तिलकले रचे इतिहास

तोडियो लाल किल्ला, तिलकले रचे इतिहास


  • मनिता चाम्लिङ, धरान

धरानमा भएको मेयरको उपनिर्वाचनमा विजय हासिल गरेर नेपाली काङ्ग्रेसका तिलक राईले ०४६ सालपछिको धरानको लाल किल्ला नै तोडिदिएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतको अन्तरले पराजित गरेर तिलकले इतिहास रचेका हुन् ।

कांग्रेसबाट विजयी राईले २६ हजार ७ सय ९ मत पाए भने उनका प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत पाए । मंसिर १४ मा सम्पन्न निर्वाचनमा कुल ५५ हजार ११ मत खसेको थियो । धरानमा ९२ हजार ८ सय ५३ मतदाता थिए ।

यसैगरी वडा नं. ७ को अध्यक्षमा भने नेकपाका जीवनराज सुवेदी विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार सुवर्णमोहन पलिखेलाई केवल १ मतले हराए । वडाअध्यक्षमा विजयी सुवेदीले ६ सय २१ मत पाए भने उनका प्रतिद्वन्द्वी पलिखेले ६ सय २० मत प्राप्त गरेका थिए । कांग्रेसले वडा नं. ७ को अध्यक्ष पदको नतिजामा असन्तुष्टि जनाउँदै पुनः मत गणनाको माग गरे पनि सहमति जुटेपछि नेकपाका अध्यक्ष विजयी घोषणा गरिएको थियो । विजयी दुवै उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले सपथ ग्रहण गराएका छन् ।

विजयी घोषणा पश्चात् निकालिएको र्यालीले धरान नगर परिक्रमा गरेको थियो । र्यालीलाई सम्बोधन गर्दै नवनिर्वाचित मेयर राईले धराने जनताको आशालाई निरासामा परिणत हुन नदिने प्रतिबद्धता जनाए । धरानमा बढेको करलाई घटाउने बताउँदै धरान उप–महानगरपालिकालाई जनताले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने समेत बाचा गरेका थिए । विजयी र्यालीमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेश आचार्य, डा. शेखर कोइराला, सीताराम मेहेता, मीनकुमार विश्वकर्मा लगायत हजारौँ प्रजातन्त्रवादी कार्यकर्ता तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।