प्रचण्डको निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी

प्रचण्डको निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी


सत्तारुढ नेकपाका कार्यकारी अध्यक्षसमेत रहेका चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डको भरमग्दूर प्रयत्नका बाबजुद उपनिर्वाचनमा नेकपाका उम्मेदवारहरु पराजित हुन पुगेका छन् । चितवनका तीनवटा वडामा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली काङ्ग्रेसले विजय हासिल गरेको छ ।

भरतपुर महानगरपालिका–१६ मा कांग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भक्तराज हमाललाई पराजित गरेका हुन् । अमृतराजले तीन हजार १८३ मत प्राप्त गरे भने भक्तराजले दुई हजार ८७५ मत प्राप्त गरेका छन् ।

यस्तै पूर्वी खैरहनी नगरपालिका–४ मा कांग्रेसका उम्मेदवार देवबहादुर बस्नेतले नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरेका छन् । बस्नेतले एक हजार १३८ मत प्राप्त गर्दा नेकपाका वेदबहादुर अधिकारीले ९८६ मत ल्याएका छन् ।

यसैगरी, खैरहनीकै वडा नं ५ मा नेपाली कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी छन् । कार्कीले ८४२ मत प्राप्त गर्दा र प्रधानको ७५६ मत आएको छ ।

उता, प्यूठान नगरपालिका–२ को वडाध्यक्षमा चाहिँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मुक्ति पोख्रेल विजयी बनेका छन् ।

यस्तै, अछामको मेल्लेख गाउँपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रमेश खड्का विजयी भएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित रामबहादुर बोहराको निधन भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो ।