कांग्रेसद्वारा नेविसंघका कार्यकर्तामाथि आक्रमणको निन्दा

कांग्रेसद्वारा नेविसंघका कार्यकर्तामाथि आक्रमणको निन्दा


शान्तिपूर्ण रूपमा छलफलमा भाग लिई फर्केका नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि सत्तारुढ नेकपानिकट अनेरास्ववियुका कार्यकर्ताबाट आक्रमण भएको भन्दै नेपाली कांग्रेसले निन्दा गरेको छ ।

नेपाल कमर्श क्याम्पस, मीनभवनमा बुधबार क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसंघ र अनेरास्ववियुबीच छलफल सकेर बाहिर निस्कने क्रममा सो घटना भएको थियो । सो क्याम्पसका अनेरास्ववियुका अध्यक्ष बम रावलको निर्देशनमा विमल भट्टराई, दीपेन्द्र क्षेत्री, दिवस सापकोटा, प्रकाश रावललगायतका समूहले नेविसंघ इकाइ सभापति सरोज तिमिल्सिना, निरज शाहलगायत १० जना विद्यार्थीलाई खुकुरी प्रहार गरी घाइते बनाएको कांग्रेसद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । विद्यार्थी नेता सरोज तिमिल्सिना र निरज शाह गम्भीर घाइते भई ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

घटना भएको एक घन्टापछि त्यहाँ खटिएको प्रहरी टोलीले अनेरास्ववियुका विद्यार्थीलाई नै संरक्षण दिएको कांग्रेसका कांग्रेसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

काङ्ग्रेसले आक्रमणकारीलाई कारवाही गर्न माग गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
rss