‘छिछोरे’ ब्वाय सुशान्तको चम्कियो भाग्य

‘छिछोरे’ ब्वाय सुशान्तको चम्कियो भाग्य


यतिबेला बलिउडमा अभिनेता सुशान्तसिंह राजपुत चर्चामा छन् । सुशान्त एकैपटक तीन फिल्ममा साइन गरेर चर्चामा आएका जल्दाबल्दा र आकर्षक पर्सनालिटी भएका युवा ‘हिरो’ हुन् । हालै बलिउडका चर्चित फिल्म निर्माता साजिद नाडियाडवालसँग तीनवटा फिल्म साइन गरेपछि सुशान्तको चर्चा एकाएक चुलिएको हो । सुशान्तलाई आफ्नो फिल्ममा अनुबन्ध गर्ने साजिदको प्रयास निकै अघिदेखिको थियो । यसमा बल्ल उनलाई सफलता मिलेको छ । यसबाट पनि अनुमान लगाउन सकिन्छ कि साजिदको क्रेज कस्तो छ भन्ने ।

पछिल्लो महिना सुशान्तअभिनीत फिल्म ‘छिछोरे’ले बक्स अफिसमा शानदार सफलता हात पार्दै २ सय ५० करोडभन्दा माथिको व्यापार गरेको थियो । ‘छेछोरे’मा सुशान्तले गरेको उत्कृष्ट अभिनय र फिल्मले पाएको सफलतालाई मध्यनजर गर्दै नाडियाडवालाले एकैपटक सुशान्तसँग तीनवटा फिल्ममा साइन गरेका हुन् । सुशान्तको उत्कृष्ट अभिनयका कारण साजिदले उनलाई तीन फिल्ममा एकैपटक साइन गरेका हुन् ।

‘छिछोरे’ सुशान्तको करिअरकै आजसम्मको सबैभन्दा सफल फिल्म हो । यसअघि भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको जीवनीमा बनेको ‘धोनी’ फिल्मले बक्स अफिसमा एक सय करोडको बिजनेस गरेको थियो । ‘धोनी’मा सुशान्तले कप्तान धोनीको रूपमा मुख्य भूमिका निभाएका थिए । फिल्म ‘धोनी’पछि ‘केदारनाथ’ सुशान्तको हिट फिल्म थियो । ‘केदारनाथ’ पनि सय करोडको क्लबमा सामेल हुन सफल भएको थियो ।

‘छिछोरे’ बक्स अफिसमा अत्यधिक सफल भएपछि अहिले उनको करिअरमा अकल्पनीय कायापलट भएको छ । सुशान्तलाई बलिउडका हस्ती–हस्ती निर्माता–निर्देशकहरू आफ्नो सिनेमामा अनुबन्ध गर्न तँछाडमछाड गर्न थालेका छन् । ‘छिछोरे’को प्रदर्शनअघि बलिउडमा सुशान्तका नराम्रा दिन चलिरहेका थिए । निर्माताहरूले सुशान्तको नाम उच्चारण गर्न छोडिसकेका थिए । वितरकहरू उनको फिल्म भनेपछि टाढा भाग्थे । तर, अहिले ‘छिछोरे’ले उनको भाग्य पलट गरिदिएको छ । अहिले उनको हातमा एक दर्जनभन्दा बढी फिल्म रहेका छन्, जसबाट उनलाई अर्बौंको कमाई हात लाग्नेछ ।