धरानमा तिलकलाई मत माग्दै यसरी गर्जिए काङ्ग्रेसका नेता

धरानमा तिलकलाई मत माग्दै यसरी गर्जिए काङ्ग्रेसका नेता


■ मनिता चाम्लिङ, धरान

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारका प्रधानमन्त्री राणा शासक जस्तै तानाशाही बन्दै गएको आरोप लगाएका छन् ।

धरानमा मंगलबार (१०९ मंसिर) आयोजित वृहत् चुनावीसभालाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले लोकतन्त्र, प्रजातन्त्रमा जनताको अधिकारलाई खुम्च्याउने र अराजक शैलीमा प्रजातन्त्रविरुद्ध काम गर्ने गरेको बताए । संवैधानिक अंगहरुलाई लत्याएर प्रजातन्त्रलाई निस्तेज पार्ने काम गरिरहेको औंल्याउँदै उनले भने– ‘सरकारले संसदलाई बन्धक बनाएर अध्यादेश मार्फत् मिडिया काउन्सिल विधेयक, मानवअधिकार विधेयक, गुठी विधेयक जस्ता असंवैधानिक विधेयकहरू ल्याई जनताको अधिकार खोस्न खोजिरहेको छ ।’

कांग्रेसको सरकारको पालामा भएका नियुक्तिहरूलाई हटाउँदै ओली सरकारले राजनैतिक द्वन्द्व निम्त्याउन खोजेकोप्रति देउवाले असन्तुष्टि पोखे । उनले नेपाली कांग्रेसका युवा नेता तिलक राईलाई मत दिई धराने जनता शिक्षित रहेको पुष्टि गर्न पनि आग्रह समेत गरे ।

यस्तै, चुनावीसभाका प्रमुख वक्ता रहेका कांग्रेस नेता गगन थापाले धराने जनता बदलिए मात्र धरानको विकास हुने भएकाले यसपालीको उप–निर्वाचनमा धरानका जनताले कांग्रेसका उम्मेदवार तिलक राईलाई मत दिई धरानलाई समृद्ध सहर र कम्युनिष्टलाई सुध्रने मौका दिन समेत आग्रह गरे । उनले धरानको मौलिकता र आधुनिकतालाई २८ वर्षसम्म शासन गरेका कम्युनिष्टले भोटसँग साटेर खाएको भन्दै धराने जनता बाँचे पनि हाँस्न छाडेको बताए ।

विगतमा केपी ओलीले देखाएको सपना सम्झँदै थापाले प्रश्न गरे– ‘कुरा मात्र गर्ने यो सरकार गफाडी हो । दुई वर्षमा आउँछ भनेको पानीजहाज र रेल खै कहाँ आइपुग्यो ?’ उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले शाही आयोग जस्तै बनाउने योजना बनाएको जिकिर गर्दै भने– ‘सरकारले सुचना प्रविधि ऐन ल्याएर मिडियालाई अंकुश लगाउँदैछ, करले जनताको ढाड सेकेर राष्ट्रपतिलाई अलोकप्रिय बनाउँदैछ, नेपाली जनताको स्वतन्त्रता हरण गर्ने काम ओली सरकारले गर्दैछ, भारतले सिमा मिच्दा पनि सरकार चुइँक्क बोल्दैन, वाइडबडी काण्डले सरकार भ्रष्टाचारीको अखडा हो भन्ने पुष्टि गरिसकेको छ, अब यो कम्युनिष्ट सरकारको घमण्ड धरानबाट तोड्नुपर्छ ।’

सभामा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकार अधिनायकवादी, भ्रष्टाचारी, विकासविरोधी भएको आरोप लगाइन् । मुलुकमा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारलाई सरकारले प्रश्रय दिएको उनको आरोप थियो । उनले भनिन्– ‘सरकारले देशमा मच्चाएको लुटतन्त्र, वाइडबडी, बुढिगण्डकी, मेलम्ची, वालुवाटार काण्ड, सुनकाण्डले पिल्सिएको काण्डैकाण्डको सरकारविरुद्ध खबरदारीस्वरुप परिवर्तनको पक्षधर युवा नेता तिलक राई मत दिनु पर्छ ।’

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्वमन्त्री महेश आचार्यले प्रदेश न.ं १ को प्रमुखमा धनकुटाका प्रा.डा. गोविन्द सुब्बालाई हटाएर कास्कीका नेतालाई प्रदेश प्रमुखमा नियुक्ति दिएर आदिवासी जनजातीमाथि पक्षपात गरेको बताए । सरकारलाई गल्ती गरेको महशुस गराउन कांग्रेसको पक्षमा मतदान गर्न उनले आग्रह गरे । आचार्यले गत साता हङकङमा भएको निर्वाचनमा जस्तै धरानमा धराने जनताले ९५ प्रतिशत मत कांग्रेसलाई दिने दाबी गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले ऐतिहासिक शहर धरानलाई कम्युनिष्टले कुरुप शहर बनाएको आरोप लगाए । उनले धरानको पौराणिकतालाई जिवित राख्न कांग्रेसलाई मतहाल्न आग्रह गर्दै भने– ‘सुकुम्बासीलाई लालपुर्जा दिन्छु भने गफाडी कम्युनिष्टले महासचिव विष्णु पौडेललाई बालुवाटारको जमिन पास गरिदिइसकेको छ ।’

कार्यक्रममा मेयरका उम्मेदवार तिलक राईले आफु विजयी भएपछि उपमहानगरपालिकाबाट कुनै सेवा र सुविधा नलिने घोषणा गरे । २८ वर्षदेखि नगरपालिकामा भएको नीतिगत भ्रष्टाचार बाहिर ल्याउने उदघोष गर्दै उनले भने– ‘२८ वर्षसम्ममा नेकपाले गरेको काम निर्वाचनको मुखमा धराने जनताले पत्रपत्रिकाबाट हेरेर महशुस गर्दैछन् ।’

राईले कम्युनिष्टले बढाएको कर घटाउने एजेण्डासहित भ्रष्टाचारको अन्त्य र धरानको विकासमा काम गर्ने योजनामा साथ दिन आम धराने जनतालाई चुनाव चिन्ह रुखमा मत हाली विजयी गराउन आग्रह गरे ।

क्षेत्रिय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो चुनावीसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महत लगायका नेताहरूले धरानको सुकुम्बासी समस्याको अन्त्य गराउन तिलक राईको जित अनिवार्य रहेको बताउँदै वर्तमान सरकारको रवैयाका कारण एकदलीय सोंच र प्रणालीको अन्त्य गराउन धरानलगायत देशभरका जनता एक भएको र हुन जरुरी रहेको तर्क गरे ।

भानुचोकमा आयोजित सो कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द गोले तामाङले सञ्चालन गरेका थिए भने सोही सभाबीच विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकाहरूलाई सभापति देउवाले अबिर र फुलमालाले स्वागत गरेका थिए ।