राजधानी र नाम छिटो टुङ्ग्याउन दाहालको आग्रह

राजधानी र नाम छिटो टुङ्ग्याउन दाहालको आग्रह


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ३ को राजधानी र नामाङ्कनको विषय छिटो टुङ्ग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गरेका छन् ।

अब यही विषयमा अड्केर बस्ने समय नरहेको भन्दै दाहालले राजधानी र नामको विषय सकेर विकास निर्माणमा केन्द्रित हुनुपर्ने अवस्था रहेको बताए । वर्तमान सरकारलाई विकास निर्माण गरेर आमूल परिवर्तन गर्ने अवसरसँगै सबै संरचना नयाँ बनाउँदा आएका जटिलताका विषयमा चुनौती पनि रहेको उनको भनाई छ ।

कतिपय कानून बनिसकेको र कतिपय बन्न बाँकी रहेकाले अब विकास निर्माणले छलाङ मार्ने बताउँदै उनले नेपालको विकासको गति सन्तोषजनक रहेको अन्तर्राष्ट्रिय एजेन्सीले बताइरहेको दाबी समेत उनले गरे ।

आसन्न उपनिर्वाचनमा नेकपाप्रति जनता उत्साहित रहेको उल्लेख गर्दै उनले अब आफूले अली बढी पार्टी र सङ्गठनमा जोडबल दिने भनी गरिएको निर्णयानुसार उपनिर्वाचन भएको स्थानमा पुग्दा त्यहाँ चुनाव र पार्टीप्रति जनता सकारात्मक देखिएकोले परिणाम फेरि नेकपाकै पक्षमा हुने विश्वास व्यक्त गरे । संविधानमा उल्लेख भएअनुसारको समाजवाद निर्माण गर्न नेकपाका दुवै अध्यक्षले भूमिका खेलिरहेको पनि उनको भनाई थियो ।
rss