कम्युनिष्ट कार्यकर्तासँग कांग्रेस प्रवक्ताले मागे भोट

कम्युनिष्ट कार्यकर्तासँग कांग्रेस प्रवक्ताले मागे भोट


लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज (९ मंसिर) आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नक्सा छापेर सार्वजनिक गर्न सक्दैन भने त्यो कामका लागि कांग्रेस तयार रहेको चेतावनी दिए ।

प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन तत्काल पहल गर्न भनेको भए पनि सरकार ठोस रूपमा अघि बढ्न नसकेको आरोप प्रवक्ता शर्माले लगाए ।

भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्सा जारी गरेको भनेर कांग्रेस सभापतिले आशङ्का मात्र व्यक्त गरेको प्रस्टिकरण दिँदैउनले यस सम्बन्धमा सरकार र नेकपाका नेताले जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्नुपर्नेमा जोड दिए । सबै राजनीतिक दलले पटकपटक भारतसँग छिटो वार्ता गर्न भने पनि प्रधानमन्त्रीले त्यसको बेवास्ता गरेका कारण आशङ्का गरिएको उनले बताए ।

राष्ट्रिय एकताका विषयमा आन्तरिक झगडा नभई सबै एकैठाउँमा उभिएर समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिँदै प्रवक्ता शर्माले हाम्रा लागि ऐतिहासिक अवसर भएकोले सरकारले यथाशीघ्र कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहल गर्नुपर्ने सुझाव दिए । यसमा प्रधानमन्त्री ओलीको अग्रसरता आवश्यक रहेको जिकिर उनले गरे ।

पार्टीले जिम्मेवार प्रतिपक्षका रूपमा भूमिका निर्वाह गरिरहेको बताउँदै प्रवक्ता शर्माले सरकार गठनको यस अवधिमा महङ्गी, हत्या, हिंसा, भ्रष्टाचार एवं बलात्कारजन्य घटना दिनानुदिन बढिरहेको आरोप लगाए । भ्रष्टाचार छानबिन गर्न संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायको बेवास्ता गरी सरकार आफैले छानबिन समिति बनाएको उनले उल्लेख गरे ।

देशैभरिको उपनिर्वाचनको वातावरण कांग्रेसका पक्षमा भएको दाबी गर्दै नेता शर्माले कास्की क्षेत्र नं २ मा हुने निर्वाचनमा पार्टीले दुई हजार ४०० भन्दा फराकिलो मतले जित्ने सूचना प्राप्त भएको जानकारी दिएका राससले जनाएको छ । कास्की क्षेत्र नं २ मा कांग्रेसले त्यागी, निष्ठावान नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको जिकिर गर्दै उनले चुनावमा कांग्रेस पार्टीभित्रको एकता मजबुत रहनुका साथै सरकारका गतिविधिका कारण पार्टीलाई निर्वाचन जित्न सहज बनाएको समेत उल्लेख गरे ।

वर्तमान सरकारलाई सच्चिन दबाब दिनका लागि कम्युनिष्ट कार्यकर्तालाई पनि यसपटक कांग्रेसको रुख चिह्नमा मतदान गर्न प्रवक्ता शर्माले आग्रह गरेका छन् ।