काम गरेर दखाउन कांग्रेस महामन्त्रीको आग्रह

काम गरेर दखाउन कांग्रेस महामन्त्रीको आग्रह


नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बोलेर भन्दा पनि अहिले काम गरेर देखाउने समय आएकाले कार्यकर्ताहरुलाई समुदायसँग नजिक रहेर विकास निर्माणमा सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

यही मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यका लागि भक्तपुर क्षेत्र नं १ (क) मा हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार कृष्णलाल भडेललाई मत माग्न चाँगुनारायणको सुडाल र सरस्वती खेलमा भक्तपुर कांग्रेसले आइतबार आयोजना गरेको घरदैलो कार्यक्रममा उहाँले सरकारको आलोचना भइरहेको बेलामा कांग्रेसले बोल्नेभन्दा पनि काम गरेर देखाउनुपर्ने बताउनुभयो ।

उहाँले सरकारले काम गर्न सकेन भनेर जनता निराश भएको बेलामा कांग्रेसले काम गरेर देखाउन सके जनताले फेरि कांग्रेसलाई पत्याउँछन् भन्दै कांग्रेस एक ढिक्का भएर अगाडि बढेको बेलामा उपनिर्वाचनको नतिजा कांग्रेसको पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य कमला पन्तले दुई तिहाइको सरकारले प्रदेशको नाम र राजधानीसमेत तोक्न नसकेको टिप्पणी गर्दै उहाँले उपनिर्वाचन कम्युनिष्ट कार्यशैलीको जनमत सर्वेक्षण भएको भनाइ राख्नुभयो भने कांग्रेस क्षेत्रीय सभापति जीवन खत्री, कांग्रेस केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायत भक्तपुर जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, क्रियाशील सदस्य, मतदाता र स्थानीयवासीको घरदैलो कार्यक्रममा सहभागिता थियो ।

कांग्रेसले दुवाकोट, सरस्वतीखेलमा पनि घरदैलो कार्यक्रम गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य पन्त, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, क्षेत्रीय सभापति खत्रीलगायत भक्तपुर जिल्ला समितिका पदाधिकारी तथा सदस्य, क्रियाशील सदस्यले मतदाताको घरदैलोमा पुगेर मत माग्नुभएको थियो ।

pict:rss